छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

काठमाडौं । शैक्षिक क्षेत्रमाथि हुने अन्याय, अत्याचार र ठगी विरुद्धको हाम्रो अभियान जारी छ । शैक्षिक क्षेत्रमा हुने अपराधका घट्नालाई हामीले निरन्तर पस्किरहेका छौ । लामो समयको निरन्तर अध्ययनपछि प्राप्त तथ्याङ्क र प्रमाणको आधारसहित अबको केही अंकमा हामी राजधानीमा रहेको एक शैक्षिक संस्था र त्यहाँभित्र भइरहेका शैक्षिक हिंसा र अनैतिक गतिविधिको चर्चा गर्नेछौ । राजधानीमा कुनै बेला निक्कै चर्चामा रहेको पेन्टागन इन्टरनेशनल कलेजमा भएको गतिविधिलाई हामी आगामी अंकमा शृङ्खलाबद्ध रुपमा प्रकाशन गर्दै जानेछौ ।

शिक्षक नै भक्षक भएपछि 

भनिन्छ शिक्षा एउटा पवित्र मन्दिर हो । जहाँ पवित्र कामसँगै मानव जीवन र समाजकोे विकास र समृद्धिको अभ्यास पनि हुन्छ । त्यसैले शिक्षकलाई समाजको गुरु मात्र हैन सम्वाहक पनि भनिन्छ । तर, त्यही शिक्षक नै शिक्षक नभएर भक्षक भयो भने सिङ्गै शैक्षिक संस्था मात्र हैन समाज नै बिगारिदिन्छ ।

राजधानीको तीनकुनेमा रहेको पेन्टागन इन्टरनेशलन कलेजमा काम गर्ने शिक्षकले आफ्नै विद्यार्थी माथि अनैतिक व्यवहार गरेको तथ्य फेला परेको छ । हामीलाई प्राप्त प्रमाण अनुसार उक्त कलेजमा स्नातक तह (ब्याचलर) का कोअर्डिनेटर उदय बुढाथोकीले बिभिन्न प्रलोभनमा पारी विद्यार्थीलाई माया जालमा फसाउने र भावनात्मक ब्लाकमेलिङ गर्ने गरेको देखिएको छ । विद्यार्थीलाई प्राक्टिकल नम्बर धेरै दिने शर्तमा ललाई फकाई शारीरिक सम्पर्क गर्न आग्रह गरेको प्रमाण हामीसँग सुरक्षित छ । यौन दुराशयको दृष्टिले सामाजिक संजाल मार्फत विभिन्न स्थानमा भेट्न बोलाउने गरेको र नमाने प्राक्टिकल नम्बर नदिने भन्ने खालको शब्द लेखेर ब्लाकमेलिङ गर्ने गरेका छन् ।

पेन्टागनका ब्याचलर कोअर्डिनेटर बुढाथोकीले एक विद्यार्थीसँग गरेको कुराकानी । जसमा उनले आफूसँग मुस्ताङ नगए प्रयाक्टिकल अंक घटाइदिने र नदिने बताएका छन् । ननस्टपसँग यस्ता धेरै प्रमाणहरु आइपुगेका छन् । हामीले पीडितलाई असर नपरोस भनेर केही थोरै संकेत स्वरुप मात्र यो राखेका छौ ।

बुढाथोकी यस्तो खालको गतिविधिमा पहिलेदेखि संलग्न रहे पनि कलेज प्रशासनले भने कुनै प्रमाण फेला नपारेको भन्दै उन्मुक्ति दिँदै आएको थियो । त्यसपछि झनै उत्साहित भएका कोअर्डिनेटर बुढाथोकीले पछिल्ला दिनमा हदैसम्मको हर्कत गर्न थालेका छन् । गत साउनदेखि कलेजको व्यवस्थापन टिम परिवर्तन भएपछि बुढाथोकीले स्नातक तहको कार्यकारी पदको जिम्मेवारी पाएका थिए । नयाँ व्यवस्थापनको फाइदा उठाउँदै निज बुढाथोकीले आफ्नै कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत एक जना छात्रालाई अश्लिल शब्द प्रयोग गरी सामाजिक संजालमा कुराकानी गर्ने गरेको भेटिएको छ । उनको यो क्रम लामो समयसम्म भएको देखिएको छ ।

अभिभावक आक्राेशित

कोअर्डिनेटर बुढाथोकीको व्यवहारले आजित भएकी पीडित छात्राले केही आफन्तलाई यो कुरा भनेकी थिइन । उनका आफन्तहरु कलेज प्रशासनसम्म निजलाई कार्वाही गराई पाउँ भनी पुगेका पनि थिए । तर, कलेज प्रशासनले पवित्र शैक्षिक संस्थालाई व्यापारिक थलोको रुपमा मात्र हेरेको भएर उक्त मुद्दालाई भित्रभित्रै छिपाएको आफन्तको आरोप छ ।

“हाम्रो छोरी चेलीमाथि बक्रदृष्टि लगाउनेलाई हटाउन कलेज प्रशानलाई भन्यौ, हुन्छ भन्ने आश्वासन पाएका थियौ तर अहिलेसम्म कुनै कार्वाही भएको छैन ।” छात्राका एक आफन्तले बताए ।

कलेज व्यवस्थापनले शिक्षा जस्तो पवित्र संस्थालाई ब्यापारिक केन्द्रको रुपमा मात्र हेरेका कारण आफूहरु मिडियामा आउन बाध्य भएको स्रोतको गुनासो छ । कलेजमा यस्तो दुव्र्यवहार भएको थाहा भएपछि व्यवस्थापन पक्षले भित्र भित्रै यो विषयलाई लुकाई विषयान्तर गर्न खोजेको छ । जसमा प्रशासन र व्यवस्थापन पक्ष दुवैले व्यापारिक स्वार्थको लागि मात्र कलेज चलाउन खोजेको पुष्टि हुन्छ ।

कलेज प्रशासन भने माैन

उक्त घट्नाबारे प्रशासनको प्रतिक्रिया लिन खोज्दा कलेजका प्रिन्सिपल गोविन्द घिमिरेले कलेजको बारेमा चासो नलिन चुनौती दिने गरेका छन् । प्रमाण भए पेश गर्न चुनौती दिएका प्रिन्सिपल घिमिरेलाई हामीले पहिलो शृङखलामा निज कोअर्डिनेटर बुढाथोकी र पीडित छात्राको कुराकानीको केही अंश मात्र पेश गरेको छौ ।

त्यसो त कोअर्डिनेटर बुढाथोकीको यो हर्कत कलेज प्रशासनसम्म मात्र सीमित छैन विद्यार्थीहरुका बीचमा पनि आजभोलि निकै कानेखुसी र छलफलको विषय बन्ने गरेको छ । तर, कलेज प्रशासनको निकम्मा देखेर विद्यार्थीहरु आफ्नो भविष्यबारे सोच्न थालेका छन् ।

स्मरणयीय रहोस पेन्टागन कलेज पेन्टागन एजुकेशन नेटवर्क अन्तर्गत संचालन भएको छ । उक्त नेटवर्क भित्र पेन्टानगन प्लस टु, स्कूल, कान्तिपुर हेल्थ एण्ड साइन्स, भ्याली कलेज, आदि सञ्चालित छन् ।

Loading...