कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १३२ पुग्यो, झण्डै ६ हजार संक्रमित

काठमाडौँ, १५ माघ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ ।

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ ।त्यहाँ रहेका विदेशीहरुलाई उनीहरुकै देश पठाउन थालिएको चीनका अधिकारीले बताएका छन् । जापानी तथा अमेरिकी नागरिकसहितको विमान वुहानबाट पठाइएको छ ।

यस्तै फ्रान्सका नागरिकलाई पनि उनीहरुकै देश पठाइएको चीनले जानकारी दिएको छ । चीनका राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसलाई ‘दानव’ का रुपमा चित्रित गरेका छन् । तर यसमा विजय प्राप्त गर्ने उनको भनाई छ ।

Loading...