मन्त्रिपरिषदद्वारा नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त

काठमाडौं, ६ असोज । मन्त्रिपरिषदले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक रहेकी राजभण्डारी तीन जना प्रतिस्पर्धी मध्येबाट छानिएकी हुन् । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् । टेलिकमको प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएकामा उनीहरुमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट लिष्टमा राखिएको थियो । त्यसमध्येबाट अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा यसअघि नियुक्त भएका बुद्धि आचार्य गैरप्राविधिक थिए ।

Loading...