गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको ननस्टपखबरलाई जानकारी दिए ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । आस्थाको व्यहारको आलोचना गरिए पनि प्रहरीको उक्त कदमको पनि चौतर्फी आलोचना भएको थियो ।

Loading...