विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ गीत रिलिज, (भिडियोसहित)

काठमाडौँ, १२ माघ । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार चलचित्रको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड छन् ।

निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको नृत्यले ध्यान खिच्छ । रफ(टफ पहिरनमा देखिएका विराज र बोल्ड अवतारमा प्रस्तुत निकिताको केमेस्ट्री सुहाएको देखिन्छ ।

यो गीतको हालसालै काठमाडौंमा छायांकन गरिएको हो । यो गीतबाट निर्माण टिमले निकै आश बोकेको छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ । पूर्व मिस नेपाल निकिताको यो डेब्यू चलचित्र हो ।

 

Loading...