बाँदरबाट जोगाउन नसकेपछि बैकल्पिक खेती तर्फ किसान

सिन्धुपाल्चोक, ८ माघ। सरकारले खेतियोग्य जमिन बाँझो नराख्ने नीति ल्याइरहँदा धेरै जिल्लाका किसानहरू बाँदर लगायतका जंगली जनावरको आतंकले उर्बर जमिन बाँझै राख्न बाध्य छन् । बाँदरबाट परम्परागत अन्न बाली जोगाउन नसकेपछि सिन्धुपाल्चोकका किसानहरुले भने चिया र कागतिलाई बैकल्पिक खेतिको रुपमा सुरुवात गरेका छन् ।

हेलम्बु ४ गैँटारका किसानहरुको झण्डै चारसय रोपनी खेतियोग्य जमिन बाँझै छ । मलिलो जमिन, सिँचाईको व्यवस्था, राम्रो उत्पादन तर सबै खेती बाँदरले खाइदिन्छ  । बाँदरले धेरै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानहरुले व्यवसायिक कागती खेती सुरु गरेका हुन् ।

स्थानीय हरीकृष्ण लामिछाने दुईसय बोट लगाएको कागति फल्न सुरु भइसकेको बताउछन । ४०÷४५ भारी मकै र १० मुरी धान फल्ने जग्गामा बाँदरले बाली सखाप पारेपछि कागति लगाएको उनले बताए । घर आसपासका जमिनमा खेतीपाती गरेपनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्छ ।

अर्का स्थानीय लालनाथ लामिछानेले पनि व्यवसायिक कागति खेति थालेका छन । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा तीनसय बोट कागतिको बिरुवा रोपेको उनले बताए । बाँदरले दुःख दिएपछि जिल्लाका अन्य ठाउँका खेतीयोग्य जमिन पनि बाँझो हुँदै गएको छ  । घर आँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कका किसानले पनि सामुहिक चिया खेती सुरुवात गरेका छन् ।

मन्जुश्री चिया, कफी, अलैंची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङ अर्को वर्षदेखि बाहिर निर्यात गर्नेगरी योजना बनाएको बताउछन । सरकारले बाँदर लगायतका वन्यजन्तु नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकिरहेको बेला किसानले व्यवसायिक रुपमा बैकल्पिक खेतिको सुरुवात गर्नसके जमिन बाँझो हुने समस्या त घट्छ नै, आम्दानीको स्रोत पनि भेटिनेछ ।

Loading...