संसद बैठकबाट शिवमायाले भनिन्: म मार्ग प्रशस्त गर्छु

काठमाडौं, ६ माघ । लामो समयको राजनीतिक खिचातानीपछि अन्ततस् उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्।

मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु संसदमा उप सभामुख तुम्बाहाम्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्।

यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको छ। महरा अहिले जेलमा नै छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले नयाँ सभामुख चयनका लागि उप सभामुख तुम्बाहाम्फेलाई यसअघि नै राजीनामा दिन निर्देशन दिइसकेको थियो।

सभामुखको दावेदारसमेत रहेकी तुम्बाहाम्फेले उपसभामुख हुँदा पार्टी सदस्यता त्याग गरेको तर्क अघि सार्दै राजीनामा दिइनन्। सभामुखको उम्मेदवार तय भए पछिमात्र राजीनामा दिने उनको तर्क थियो। हिजोमात्र नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख उम्मेदवार छान्ने तय गरेको थियो।

आज आफैँले संचालन गरेको संसद बैठकमा शिवमायाले राजीनामा दिने जनाएकी हुन्। संसदको अर्को बैठक आजै दिउँसो ४ बजेलाई डाकिएको छ।

Loading...