सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् ।

उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै आएकी छन् । नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्दा उनले राजिनामा दिनुपर्ने भएको छ । उनले राजिनामा दिनासाथ उनी सोही पदमा कदापी निर्वाचित हुन नसक्ने अवस्था छ । संविधानमा सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने भए पनि साविकका सभामुख उपसभामुख निर्वाचित हुँदा फरक फरक पार्टीबाट निर्वाचित भएका कारण सत्तारुढ नेकपाले अहिलेसम्म प्रतिपक्षीको आवाजलाई वेवास्ता गर्दै आएको थियो । तर, अब भने दुबै पदमा एउटै पार्टीको व्यक्ति बस्न सक्दैन ।

यौन दुव्र्यवहारको आरोप लागेपछि पदबाट राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलमा छन् । सोही कारण सभामुख पदमा पुनः निर्वाचन गरिदैछ । सभामुख महरा यौन दुव्र्यवहारको आरोप लागेर पदबाट हटे पनि उपसभामुख तुम्बाहाङ्फेले भने विना कारण राजिनामा गर्नुपर्ने अवस्था आएको छ । उनको पद जोगाउन संसदमा पूर्ण बहुमत रहेको सत्तारुढ नेकपाले कि त सभामुख पद छोड्नुपर्छ कि त तुम्बाहाङ्फेलाई उपसभामुखबाट सभामुख बनाउनुपर्छ । ती दुबै कुरा सत्तारुढ नेकपा गर्न चाहेको छैन । नयाँ सभामुखको हुने भन्ने विषयमा सो पार्टीभित्र लामो छलफल र विवाद पनि चल्दै आएको छ । सोही विवादलाई टुङ्गो लगाउँदै आइतबार सो पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ । पार्टीले निर्णय नगर्दासम्म उपसभामुख तुम्बाहाङ्फेले निरन्तर आफ्नो दावी प्रस्तुत गर्र्दै आएकी थिइन ।

पार्टीले उम्मेदवारको टुङ्गो लगाउने कुरा थाहा पाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । आइतबारको भेटमा पनि उनले प्रधानमन्त्रीसँग ‘मेरो गल्ती के थियो’ भनेर सोधेकी थिइन् ।

‘एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने भयो,’ उनको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘मैले उपसभामुख छोड्नुपर्ने कारण के हो  ? पार्टीले लिखित देओस् ।’

पार्टी सचिवालयको बैठक बस्नुृअघि बालुवाटार पुगेर नेताका अगाडि प्रश्न तेस्र्याए पनि उनको कुराको सुनुवाई भएन । अन्ततः उनी अब उपसभामुखबाट जवरजस्त विस्थापित हुनुपर्ने निश्चित भएको छ ।

Loading...