हिमपहिरोमा परेका सयभन्दा बढी पर्यटकको उद्धार १० जना सम्पर्कविहीन

पोखरा, ५ माघ । हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर एमबीसी पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् । हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र दुई जना नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एक जना गाइडले बताएका छन् ।

खोजी र उद्धारका लागि स्थलमार्गबाट गएको टोलीसमेत पहिरोस्थलमा पुग्न सकेको छैन । यता मनाङको थोरङपासमा पदयात्रामा गएका चार चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङपास गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको एक्याप कार्यालयले जानकारी दिएको छ ।

मौसम खुलेपछि पोखराबाट शनिबार बिहान ११ बजेपछि हेलिकप्टरले एक सयभन्दा बढी पर्यटकको उद्धार गरेको छ । दिनभर एक सयभन्दा बढी पर्यटकको उद्धार गरी पोखरा ल्याइएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले बताए । चिनियाँ पर्यटकको दुई समूह पोखरा आइसकेका छन् ।

ती पर्यटकका अनुसार बाक्लो हिमपातले एमबीसी क्षेत्र पूरै ढाकिएको थियो । करिब सय जनाजति एमबीसी क्षेत्रमा रोकिएकोमा पालैपालो छोमरोङ झार्ने क्रम जारी छ ।“साह्रै नै डरलाग्दो हिमपात भयो । बाँच्ने आशासमेत हराइसकेको थियो,” चिनियाँ जुलिया झुले भने। उनका अनुसार विभिन्न देशका पर्यटक अझै पनि एमबीसी क्षेत्रमा छन् ।

Loading...