आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी हुन् । उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । विमानस्थल सुरक्षा कार्यालयले उक्त उजुरीलाइ महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई नै नियन्त्रणमा लिने तयारी गरिएको छ । अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले पक्राउ पुर्जी जारी गरेपछि राउतलाई भोलि नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकरी दियो । कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । राउत आइतबार नै नेपाल फर्कने कार्यक्रम रहेको बताइएकाे छ । उनी आइतबार फर्केपछि उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।

के हाे वास्तविकता ?

यो प्रकरणमा गायिका आस्था राउत एकपछि अर्को गल्ती गर्दै गएको देखिन्छ । विमानस्थलमा आफूमाथि दुव्र्यवहार भयो भनेर सार्वजनिक रुपमा प्रहरीमाथि गाली गरेकी राउतले अर्को लाइभ दिएर अन्य गायक कलाकारमाथि पनि गाली नै गरेकी छन । उनले गीत गाउनेहरुलाई गायक होइन गाइने भनेकी छन् । बन्दुक बोक्नेलाई बन्दुके, डन्डा समाउनेलाई डन्ठे भनिने भन्दै उनले फेरि अपमानजनक शब्दलाई दोहोर्याएकी छन् । सार्वजनिक भएको विमानस्थल चेकजाँच कक्षको सिसिटिभी फुटेज हेर्दा राउत निकै ठाँटबाँटका साथ भित्र पसेको देखिन्छ । कालो चस्मा लगाएर बाक्ला लुगासाथ निकै हतारका साथ चेकजाँच कक्षमा पसेकी राउतलाई महिला प्रहरीले जकेट खोल्न लगाउनु कुनै अन्यथा होइन । राउतले फेसबुक लाइभमा दिएकाे स्पष्टिकरण र सिसिटिभी फुटेजमा हेर्दा उनले आफूलाइ हतार भएकाले अवराेध नगरी जान दिन भनेकाे जस्ताे देखिन्छ । यसरी कालाे चस्मा लगाएर हतार भएका कारण चेकजाँच नगरी जान दिन अनुराेध गरेका भरमा मान्छे छाड्ने हाे भने  के हाेला ? डिउटीमा व्यस्त प्रहरीलाई कालो चस्मामा ठाँटिएर आउने को हो भन्ने चिन्ने कुरा पनि भएन । उसो त चिनेकै भए पनि डिउटीमा बसेको प्रहरीले जकेट खोल्न लगाउनु ठूलो कुरा नै होइन । तर, गायिका राउतमा आफू कलाकार भएकोले आफूलाई चेकजाँच नै हुनु हुँदैन भन्ने दम्भ देखिन्छ ।

अडियो म्यूट हुने सिसिटिभी फुटेजमा देखिए अनुसार गायिका राउतले पहिलो त कफी नै चेकजाँच कक्षमा लगेकी छन र आफ्नो हातको कफी प्रहरीलाई उता टेबुलमा राख्न लगाएकी छन । हातको कफी राख्न लगाएर उनी आफै आक्रोश पोखिरहेकी हुन कि भन्ने देखिन्छ । त्यसपछि राख्न लगाएको कफी नै नलगेर हिडेकी छन् । त्यसपछि मात्र डिउटीमा रहेकी प्रहरीले कफी समातेर लग्न भनेको देखिन्छ । सो क्रममा उनीहरुबीच केही भनाभन भएको देखिन्छ । केहीबेरको भनाभनपछि महिला प्रहरी आफ्नो काममा लागेकी छन् भने गायिका राउत भने औला ठड्याएर आक्रोश पोखिरहेकी छन् । उनी अन्ततः कफी नलिएरै हिडेको देखिन्छ ।

यो घटना एअरपोेर्टको चेकजाँच कक्षको थियो । जुन थोरै केही यात्रुले देखेका थिए । त्यहाँ कस्ता खालका शब्द प्रयोग भएका थिए र को कुन मूडमा थियो भन्ने थोरै केही यात्रुलाई थाहा थियो । तर, गायिका राउतले लगत्तै सामाजिक सञ्जाल फेसबुकमा लाइभ दिएर आफ्नो दम्भ र आक्रोश पोखिन । उनले आफ्नो दम्भ देखाएर गल्ती सार्वजनिक त गरिन नै चेकजाँच कक्षमा महिला प्रहरीले तँ भनेको भनेर रिस पोख्ने क्रममा प्रहरीमाथि अपमानजनक शब्दहरु पनि प्रयोग गरिन । उनले डन्ठे, बन्दुके जस्ता होच्याउने शब्दहरु प्रयोग गरिन । त्यति छँदैथियो राउतले दोस्रो फेसबुक लाइभमा आएर गायकहरुलाई गाइने भनिसकेकी छन् । यसले उनीभित्रको दम्भ र झोक्की स्वभावलाई स्पष्ट रुपमा देखाउँछ । जुन एक सेलिब्रेटी कलाकारमा सुहाउने कुरा हो भन्न कसैले सक्दैन । 

गायिका आस्था राउतले रिस उठेकाे मान्छेले ‘डन्ठे’ भन्नु स्वभाविक भएकाे पनि बताएकी छन । त्यही कुरा सायद एअरपाेर्टमा डिउटीमा रहेकाे महिला प्रहरीमा पनि लागु हुन्छ हाेला । चेकजाँच कक्षमा काेही जवरजस्त पस्छ र चेक नगर्न भन्छ, हातमा ल्याएकाे कफी नलगेर हिड्न खाेज्छ भने रिस उठ्छ नै हाेला । 

यद्यपी विमानस्थलकाे चेकजाँच कक्षमा डिउटी गर्ने प्रहरीले पनि रिस देखाउनु सही हाेइन । सबै मानिसलाइ चेकजाँच कक्षकाे नियम थाहा नहुन सक्छ । त्यस्ताे बेला काेही यात्रु रिसायाे भन्दैमा डिउटीमा बस्ने प्रहरी रिसाउनु कदापी उचित हाेइन । 

Loading...