इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले

एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय अगाडि प्रदर्शन भएको र प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार बेलुका विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्न तेहरानका शरिफ र अमिर कबिर विश्वविद्यालय अगाडि विद्यार्थी भेला भएका थिए । सो भेला पछि प्रदर्शनमा परिणत भएको जनाइएको छ । एक हजारको हाराहारीमा रहेका प्रदर्शनकारीहरुले नेतृत्वविरुद्ध नारावाजी गरेको तथा सुलेमानीको पोस्टर च्यातेको फालेको समाचार संस्थाले उल्लेख गरेको छ ।

त्यस्तै इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स आइआरजीसी’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन् । दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए ।

विमानमा चालकदलका नौ सदस्यसहित १७६ जना यात्रुको निधन भएको थियो । उक्त विमानमा ८२ इरानी, ६३ क्यानेडाली, ११ यूक्रेनी, १० स्वीडेनी, चार अफगानी र तीन तीन जना जर्मन तथा बेलायती रहेका थिए ।

आइआरजीसीका ब्रिगेडियर जनरल अमिर अलि हाजिजादेहलाई उद्धृत गर्दै अरबी समाचार संस्था अलजजीराले लेखेको छ, “मैले दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु र जुन निर्णय लिइन्छ त्यसको पालना गर्नेछु । मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो ।”

सुरूमा विमान दुर्घटना इरानले हानेको क्षेप्यास्त्रका कारण भएको भन्ने पश्चिमी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतको दावीलाई अस्वीकार गरेपनि शनिबार विमानलाई ‘नचाहँदा नचाहँदै’ लागेको र दुर्घटनाग्रस्त भएको इरानले स्वीकार गरेको छ ।

आकाशमा रहेको विमान ‘क्रुज मिसाइल’ जस्तो लागेपछि ‘गल्तिबस’ छोटो दुरीको जमिनबाट आकाशमा हान्ने मिसाइलले त्यसलाई खसालेको हाजिजादेहले बताए ।

Loading...