भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु

काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्य १० वर्षपछि मात्रै पूरा भयो । सन् २००७ मा आइपुग्दा बल्ल ५ लाख पर्यटक आगमनको आँकडा छोएको थियो ।

दुई दशकपछि आयोजना हुन लागेको तेस्रो भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यसका लागि सन् २०१९ को पर्यटक आगमनको तुलनामा करिब ४० प्रतिशत पर्यटक वृद्धिको आवश्यकता पर्छ । यो लक्ष्य महत्त्वकांक्षी त होइन, तर सहज पनि छैन ।

सरकारी अधिकारीहरू भने भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आगमन हुनेमा विश्वस्त छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई खासगरी नेपालमा पर्यटक बढी आउने स्रोत बजारमा पर्यटकीय प्रवद्र्धनका काम भइरहेकाले २० लाख लक्ष्य पूरा हुने बताउँछन् । उनको जस्तै आत्मविश्वास भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डसँग पनि छ ।

बोर्ड सञ्चालक समिति सदस्य दीपक महत भन्छन्, ‘म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु, २० लाख पर्यटक आगमन पुग्छ, त्यो आधार तयार भएको छ ।’ नियमित वृद्धिदरलाई हेर्ने हो भने सन् २०२० सम्म मुस्किलले १३ लाख पर्यटक मात्र पुग्ने अवस्थामा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गर्न लागेको हो ।

रंगशालामा विशेष कार्यक्रम

भ्रमण वर्ष उद्घाटनको अवसर पारी मूल आयोजक समितिले बुधबार दशरथ रंगशालामा विशेष कार्यक्रम आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्षको शुभारम्भ हुने यस उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोह सागको उद्घाटनभन्दा भव्य बनाउने तयारी भइरहेको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य बताउँछन् । उनका अनुसार, भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार भ्रमण वर्षको अवसर पारी विमानस्थल, सीमा नाका तथा मुख्य पर्यटक क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । हरेक प्रदेश तथा स्थानीय तहमा समेत सोही प्रकारको तयारी भइरहेको छ । कतिपय स्थानमा पर्यटकलाई आकर्षित गर्न सरप्राइज गिफ्टको समेत तयारी गरिएको छ । भ्रमण वर्षलाई लक्षित गरी निजी क्षेत्रले छुट तथा अफर सार्वजनिक गरेका छन् । सन् २०२० भर होटेल र होमस्टेले छुट सुविधा दिँदैछन् । ट्राभल र टुरमा समेत छुट सुविधा सार्वजनिक गरिएको छ ।

४ मुलुकका पर्यटन मन्त्री

भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, चीन, जमैका र म्यानमारबाट मन्त्रीहरू आएका छन् । उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार स्वागत गरे । उद्घाटन समारोहलाई विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट ३५ भन्दा बढी पत्रकारलाई नेपाल आमन्त्रण गरिएको छ । उनीहरूलाई नेपालका विभिन्न गन्तव्यसम्म लैजाने योजनासमेत छ ।

विदेशमा ७ तारिखमा उद्घाटन

भ्रमण वर्ष २०२० को उद्घाटन नेपालमा मात्र आज शुभारम्भ हुनेछ । विदेशमा भने ७ तारिखमा मात्र उद्घाटनको तयारी छ । पर्यटनमन्त्री भट्टराईका अनुसार, विदेशमा नयाँ वर्षको बिदाको मुड हुने र त्यसले भ्रमण वर्षको शुभारम्भ खल्लो हुने भएकाले ७ जनवरीमा मात्र उद्घाटनको कार्यक्रम राखिएको हो । त्यसदिन सम्भव भएसम्म आ–आफ्नो मुलुकका राष्ट्रप्रमुख र या सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउन नेपाली कूटनीतिक नियोगलाई पत्राचार गरिएको छ ।

छैन ‘विशेष’ घोषणा

भ्रमण वर्षलाई ‘खास’ बनाउने गरी निजी क्षेत्रले सरकारको तर्फबाट केही न केही घोषणाको अपेक्षा गरेका थिए । तर, यो भने भ्रमण वर्षको दिनसम्म आइपुग्दासम्म पनि अपूर्ण रहेको छ । यसबीचमा अन्तर्राष्ट्रिय क्षेत्रसम्म तरंग हुने गरी खास घोषणा गरी पर्यटकलाई नेपालसम्म आकर्षित हुने खालको प्याकेज वा घोषणाको माग निजी क्षेत्रले गरेको थियो । तर, सरकारले अधिकांशसमेत निजी क्षेत्र, गैरआवासीय नेपाली र कूटनीतिक नियोगले गर्ने प्रवद्र्धनकै काममा बढी भर परेको देखिन्छ ।

पूर्वाधार र हवाई सञ्जालको चुनौती

भ्रमण वर्षको अन्तिम समयसम्म आइपुग्दासमेत सरकारले आमजनता, व्यवसायी र सरोकारवालालाई चित्त बुझाउन नसकेको मुख्य क्षेत्र नै पूर्वाधार र हवाई सञ्जालको हो । यसबीचमा असुरक्षित सडक र हवाई सञ्जाल, अन्तर्राष्ट्रियस्तरमा नेपाल एयरलाइन्सको कमजोर उपस्थिति र नेपालको हवाई सूचीलाई युरोपले राखेको कालोसूचीले पक्कै पनि नकारात्मक प्रभाव पार्नेछ ।

भ्रमण वर्षकै मुखमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले नागरिक उड्डयन प्राधिकरण ऐनविरुद्धमा घोषणा गरेको आन्दोलनले समेत सरकारलाई अफ्ठ्यारोमा पार्न सक्छ । सन् २०१९ भित्रै भैरहवा विमानस्थल सञ्चालनमा आइसक्ने, नेपाल एयरलाइन्सले थप जहाज ल्याएर लामो दूरीमा उडान थालिसक्ने अनुमानसहित २० लाख लक्ष्य राखिएको थियो । तर, यी घोषणा अधुरै रहेको समयमा लक्ष्यमा पुग्नु चूनौतीपूर्ण देखिन्छ ।

तामझाममात्रै नहोस्

भ्रमण वर्षलाई लिएर सरकार आवश्यकताभन्दा बढी हौसिएको प्रतीत हुन्छ । करोडौं खर्च गरेर तामझामपूर्ण उद्घाटन गर्न लागिएको छ । सबै सरकारी कार्यालयहरूमा दुई दिन दीपावली गर्नसमेत उर्दी भएको छ । अहिले गरिएको तामझाम कत्तिको उपलब्धिपूर्ण होला भन्ने त एक वर्षसम्ममा थाहा होला । तर, पर्यटक डाक्नका लागि भने देखावटी तामझामभन्दा पूर्वाधारहरूको संरक्षण र संवद्र्धनमा जोड दिएको भए हुने विज्ञहरूको मत छ ।

Loading...