कंगोबाट किन फर्काइए १५० नेपाली सैनिक

काठमाडौं, २४ असाेज । नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।

सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ ।

उनीहरू बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् । जंगी अड्डाका एक सैनिक अधिकारीले भने, ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाउनु गैरजिम्मेवारीपन थियो । मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबरजस्ती पठायो तर समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुपर्‍यो ।’

यूएन म्यान्डेटविपरीत बढी संख्यामा पठाएकाले नेपाली सैनिकलाई फिर्ता पठाएको कंगोबाट फर्केका एक सैनिक अधिकारीले भने । ‘सैनिक मुख्यालयले गम्भीर हेलचेक्र्याइँ गरेको छ’, उनले भने, ‘मुख्यालयलाई पहिल्यै थाहा भएर पनि आवश्यकताभन्दा बढी संख्यामा पठायो । बढी संख्यामा पठाउनु र फर्काइनुको चित्तबुझ्दो जवाफ मुख्यालयले दिएको छैन । बीचैमा फर्कनुपर्दा नरमाइलो र अपमानित महसुस भएको छ ।’ फर्काइएका १ सय ५० जना सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको स्रोतले बताएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका महासेनानीसमेत रहेका निमित्त प्रवक्ता विजय थापाले संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेपछि अन्य देशसँगै नेपाली शान्ति सैनिकको संख्या पनि कटौती भएको बताए ।

महासेनानी थापाले भने, ‘उनीहरूलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा राखेका छौं । उनीहरूलाई अन्य देश पठाउन राष्ट्रसंघसँग परामर्श गर्दैछौं ।’ कंगोमा नेपाली शान्ति मिसनको नेतृत्व सम्हालेका प्रमुख सेनानी वसन्त गौतमले अन्य देशका शान्ति सैनिकको संख्यासमेत कटौती गरेको र त्यसमा नेपाल पनि परेकाले फर्किनुको कुनै विकल्प नभएको जवाफ दिएका थिए ।

उनीहरूले बल्लतल्ल मिसन पुगेको तर कमजोर नेतृत्वका कारण दुई महिनामै फर्कनुपरेको भन्दै सैनिक नेतृत्वको कार्यशैली र राष्ट्रसंघसँगको कमजोर समन्वयको चर्को आलोचना गरेका छन् । फर्किएका सैनिकले कंगोको मिसन भद्रगोल भएको आरोपसमेत लगाएका छन् ।

कंगो मिसनमा लगिएका हातहतियार पुराना र यूएन म्यान्डेटविपरीत भएको, सवारीसाधनको अवस्थासमेत दयनीय भएको फर्किएकाहरूले आरोप लगाएका छन् । ड्युटी गर्न जान लागेका सहकर्मीलाई स्टोरमा कार्यरत एक सैनिकले सामान्य विवादमा तातोपानी खन्याइदिएको र उनी हाल स्थानीय अस्पतालमा उपचाररत रहेको सैनिक स्रोतले बताएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा ८ सय ५० जना सैनिक अधिकारी असार अन्तिम साता कंगो गएका थिए । राष्ट्रसंघले चार्टर गरेको इथोपियन एयरलाइन्सको जहाजबाट असार २८ गते पहिलो फ्लाइट र साउन ७ गतेको अन्तिम फ्लाइटमा नेपाली शान्ति सैनिक एक वर्षका लागि कंगो लगेको थियो ।

Loading...