दाङमा भेटियाे पेट्राेलियम खानी

दाङ, २४ असाेज । राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो ।

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए÷नभएको बारेमा अध्ययन गरेको थियो ।

स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिँदै यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरेले बताए ।

‘स्थलगत अध्ययन र परीक्षणले यो क्षेत्रमा पेट्रोलियम पदार्थको खानी छ भन्ने देखाएको छ’, उनले भने, ‘विस्तृत कुरा हामी अहिले नै भन्न सक्ने अवस्था छैनौं । बगरमा जमिनमुनिबाट निस्किएको ग्यास यो मिथेन हो कि पेट्रोलियम ग्यास हो भन्ने अध्ययनपछि मात्र यकिन गर्न सकिन्छ ।’

‘स्थलगत अध्ययन र परीक्षणले पेट्रोलियम पदार्थको खानी छ भन्ने देखाएको छ ।’ सुधीर रजौर, उपमहानिर्देशक, खानी तथा भूगर्भ विभाग काठमाडौंमा निस्किएजस्तै हो भने मिथेन र त्यो होइन भने दैलेखको जस्तै पेट्रोलियम ग्यास हुन सक्ने उनले जानकारी दिए । यसले यो क्षेत्रमा खानी भएको देखाउने उनको भनाइ छ ।

‘तराई र चुरे पर्वत शृंखला पेट्रोलियम ग्यास पाइने क्षेत्रका रूपमा चिनिन्छन्, यस्तै भौगर्भिक इतिहास भएको भारतको आसाम र पाकिस्तानको पतुवारमा ग्यास उत्पादन भइरहेको छ’, उनले भने, ‘राप्ती नदी किनारबाट जुन ग्यास निस्किएको छ त्यो पेट्रोलियम ग्यास हुन सक्छ, कति मात्रामा छ, यसको विस्तृत अध्ययनबाट मात्र पत्ता लाग्छ । ग्यास जमिनुमनि दरार परेर निस्किएको हुन्छ ।’

उनका अनुसार अब विस्तृत अध्ययनका लागि विभागबाट दक्ष प्राविधिक सम्मिलित टोली आउनेछ । ग्यास उत्खनन गर्न ठूलो लगानी चाहिने र त्यो लगानी ग्यासको मात्राका आधारमा जम्मा गर्न सकिने उनको भनाइ ।

राप्ती किनारमा पेट्रोलियम भएको खुलेपछि दाङवासी खुसी भएका छन् । यसको उत्खनन हुनुपर्ने स्थानीयवासीको भनाइ छ । यसबारे विस्तृत अध्यन गरी वास्तविकता बाहिर ल्याउन स्थानीय हरिबहादुर डाँगी बताउँछन् ।

Loading...