पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित असोजमा ‘पर्यटन लगानी सम्मेलन’

काठमाडौँ, १३ पुस। नेपालको पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए । उनका अनुसार २०७७ असोज ६ गते यस्तो सम्मेलन आयोजना गर्ने योजना छ ।

भ्रमण वर्षको सफलता नयाँ भित्रने लगानीले पनि निर्धारण गर्ने भएकाले यस्तो सम्मेलन आयोजनाको तयारी गरिएको उनले जानकारी दिए । भ्रमण वर्ष खाली सङ्ख्याले मात्र सफल हुँदैन, उनले भने, नयाँ लगानी र त्यसले सिर्जना गर्ने रोजगारीको पनि यसको सफलतामा महत्वपूर्ण भूमिका हुन्छ । सम्मेलनमा पर्यटन क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता रहने उनले जानकारी दिए । सम्मेलनको मिति तय भए पनि स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।

यसअघि नेपालमा विदेशी लगानी भित्रयाउने उद्देश्यसहित दुईवटा लगानी सम्मेलन आयोजना भइसकेको छ तर लगानी सम्मेलनपछिको उपलब्धि कार्यान्वयनको अवस्था भने कमजोर छ । त्यही परिस्थितिलाई ध्यानमा राखेर पर्यटन लगानी सम्मेलन भने अलि फरक ढङ्गबाट गरिने वैद्यको भनाइ छ । लगानी प्रतिबद्धतालाई कार्यान्वयनमै ल्याउने गरी सम्मेलनको आयोजना हुने उनले बताए । सम्मेलनले पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन जीडीपीमा योगदान बढाउने अपेक्षा सचिवालयको छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान अहिलेको तीन प्रतिशतबाट बढाएर १० प्रतिशत पु¥याउने सरकारको लक्ष्य छ । सन् २०२५ सम्मको उक्त लक्ष्यलाई पूरा गर्न उक्त सम्मेलन सहयोगी हुने वैद्यले बताए ।

नेपालको पर्यटन क्षेत्रमा खासगरी होटल उद्योगमा विदेशी लगानीको आकर्षण छ । पर्यटकको सङ्ख्या बढ्दै जाँदा पर्यटक स्तरीय होटलको आवश्यकता पनि बढ्ने भएकाले त्यसका लागि आवश्यक लगानी जुटाउन सम्मेलन उपयोगी हुने विश्वास वैद्यको छ । भ्रमण वर्षलाई सचिवालयले आन्तरिक रोजगारी सिर्जनाको अवसरका रूपमा अगाडि बढाइरहेकाले लगानी सम्मेलन आवश्यक रहेको उनको भनाइ छ । कतिपय नयाँ गन्तव्यमा अहिले पनि आवश्यक न्यूनतम पूर्वाधार छैन, उनले भने, त्यस्ता ठाउँमा लगानीको अवसर सम्मेलनले देखाउने छ । खप्तड, रारा, अरुण उपत्यका, कोसीटप्पुजस्ता पर्यटकीय हिसाबले अति आकर्षक ठाउँमा पनि पर्यटकीय पूर्वाधार नहुँदा पर्यटक नै पुग्न नसकेको उनको भनाइ छ । गुणस्तरीय पर्यटक लैजान सकिने त्यस्ता सम्भाव्य स्थानमा लगानी भित्रयाउन सम्मेलन माध्यम बन्ने उनले बताए ।

Loading...