स्थानीय नेताहरु मिलेमतोमा भागबन्डा गर्दै सार्वजनिक जग्गा बाँड्दै

सुर्खेत, २५ मंसिर । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन्।

नगर विकास समितिले हटियाचोकमा उपलब्ध गराएको जग्गामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय छ। ऋषिस्मृति भवन नाम दिइएको सो कार्यालय दुईतले छ। माथिल्लो तलाका नौवटा कोठा भाडामा दिइएको छ। भाडाबापत नेकपाले मासिक एक लाख रुपैयाँभन्दा बढी पाउँछ। भवनको माथिल्लो तलामा एउटा एग्रोभेट, एउटा डिमार्टमेन्टल स्टोर र सातवटा फेन्सी पसल छन्। तल्लो तलामा पार्टी कार्यालय छ। तत्कालीन एमालेले प्रयोग गरेको सो भवनमा अहिले नेकपा कार्यालय छ। ‘राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले जिल्लास्थित राजनीतिक दलहरूलाई विभिन्न मितिमा एक–एक कट्ठा जमिन दिने निर्णय भएको हो,’ नगर विकास समितिका अमिन महेशप्रसाद पौडेलले भने, ‘तर दलहरूले उद्देश्यविपरीत काम गरिरहेका छन्।’

नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ। उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ। सो जमिनमा तीनवटा भट्टी पसल छन्। एउटा पसलले मासिक १० हजार रुपैयाँ भाडा बुझाउँछन्। ‘हामी आफैंले छाप्रा बनाएर पसल सञ्चालन गरेका हौं,’ फोरमलाई प्राप्त जमिनमा बसेका एक व्यापारीले भने, ‘तीनवटा पसलले मासिक १० हजारका दरले पैसा बुझाउने गरेका छौं।’ ती पसलेले भाडाको रकम बुझ्नेको नाम भन्ने खुलाएनन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा विलय भइसकेको छ।

फोरम लोकतान्त्रिका नाममा दिइएको जमिनको छेउमै तत्कालीन नेकपा माओवादीको दुईतले पार्टी कार्यालय छ। उसले पनि कार्यालयको तल्लो तलाका सटर भाडामा लगाएको छ। खाली रहेको जमिनमा चिया पसल सञ्चालन छ।

त्यस्तै बुलबुले तरकारी तथा फलफूल बजार छेउमा राष्ट्रिय जनमोर्चाले नगर विकासबाट प्राप्त जमिनमा घर बनाएको छ। उसले पनि भवन भाडामा लगाएको छ। हटियालाइनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्राप्त जमिनमा पनि फेन्सी पसलहरू सञ्चालनमा छन्।

सुर्खेत उद्योग वाणिज्य संघसँगै जोडिएको जमिनमा नेपाली कांग्रेसले तीनतले भवन बनाएको छ। उसले पार्टी कार्यालयका कोठा भाडामा नदिए पनि नजिकैको खाली जमिनमा चमेना–गृह छ। ‘हामीले भोगाधिकारका लागि दिएको जमिनमा घर बनाएर राजनीतिक दलहरूले होटल, डिपार्टमेन्टल स्टोर, फेन्सी पसललगायत व्यापार सञ्चालन गर्न दिएका छन्,’ अमिन पौडेलले भने, ‘राजनीतिक दलहरू नै नियमविपरीत काममा लागेका छन्।’ राजनीतिक दलहरूले पार्टी कार्यालयका सटर र तला कार्यकर्तालाई भाडामा पसल सञ्चालन गर्न दिएका छन्। तर ती पसले यसबारे कुरा गर्न मान्दैनन्। नागरिक दैनिकबाट

Loading...