ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित परीक्षार्थीहरुबाट रकम लिएर परीक्षामा उत्तिर्ण गराएको भन्ने विषयमा परेको उजुरीमाथिको छानबिनपछि अख्तियारले ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा लेखा अधिकृत दाहालले त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटका हिरा कुटवालसँगको मिलेमतोमा विद्यार्थीहरुसँग रकम लिएर उत्तर पुस्तिका साटफेर गरेको भेटिएको हो ।

अख्तियारका अनुसार त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत चौधरीले आफू कार्यरत काम्पसकै परीक्षार्थी जानुका र बरुवा क्याम्पसकी परीक्षार्थी हिरालाई परीक्षा केन्द्र बाहिर अर्को उत्तर पुस्तिकामा उत्तर लेख्न लगाइ लेखा अधिकृत दाहालमार्फत बाहिर उत्तर लेखिएको उत्तर पुस्तिका साटफेर गर्न लगाएका थिए ।

अख्तियारले परीक्षार्थीसँग रकम लिएर प्रश्नपत्र साटफेर गर्ने पनिकाका लेखा अधिकृत दाहाल र त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध जनही ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजायको मागदाबी गरेको छ । त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध मतियार बनेको अभियोगमा थप ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।

यस्तै, पैसा दिएर आफ्नो उत्तर पुस्तिका साटफेर गर्न लगाउन परीक्षार्थीद्वय जानुका र हिराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम २ हजार ५ रुपैयाँ जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

Loading...