स्थिति नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ‘कर्फयू’

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फयू लगाएको छ । एक स्कुल बालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएपछि आक्रोशित विद्यार्थी र स्थानीय तोडफोडमा उत्रिन थालेपछि दिउँसो ३ बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कर्फयू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जानकारी दिए । आज बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि स्थिति तनाबग्रस्त बनेको थियो ।

कक्षा ७ मा अध्ययनरत प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका छन् । प्रहरी र विद्यार्थीबीचको झडपमा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । झडपमा केही विद्यार्थीहरु समेत घाइते भएका छन् ।

घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आज बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर–१० की प्रगति चन्द घाइते भएकी थिइन् । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ । उनी बुबाको स्कुटरबाट स्कुल गेट छिर्न ओर्लना साथ ट्रकले ठक्कर दिएको थियो । आक्रोशित विद्यार्थीहरुले बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् ।

कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।

Loading...