टेलिकमले सुरु गर्यो मिस्ड कल अलर्ट सेवा

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराएको छ । टेलिकमले जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध गराएको हो । यो सुविधामार्फत सेवाग्राहीले अब आफ्नो मोबाइलमा आएका सबै कलको जानकारी पाउन सकिने टेलिकमले जनाएको छ ।

यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ ।

यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिने टेलिकमले जनाएको छ ।

Loading...