नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलन: दुरुपयोग घटाएर सदुपयोग बढाउन अनुसन्धान

काठमाडौं । विज्ञले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् ।

सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका हुन् ।

सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक अध्यक्ष उज्जवल आचार्यले नेपालमा इन्टरनेट दुरुपयोग गर्नेको संख्या बढेको बताउँदै इन्टरनेटको सही उपयोग सिकाउन आवश्यक रहेको बताए ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जिवी खनालले इन्टरनेटबाट धेरै फाइदा लिन सक्ने भएपनि इन्टरनेट अधिकारका बारेमा धेरैलाई जानकारी नभएको बताए।

इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीका विज्ञ तथा काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक डा. सुधांशु दाहालले पर्याप्त जानकारी नुहँदा नागरिक फेक न्यूज र इन्टरनेटको शिकार हुनुपर्ने स्थिति रहेको बताए ।

इन्टरनेट सोसाइटी नेपालका पूर्वअध्यक्ष एवं कानुनविद् सन्तोष सिग्देलले इन्टरनेटमा चुनौती र अवसर दुवै रहेको बताउँदै अवसरलाई सदुपयोग गर्ने कुरालाई अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेष दाहालले अहिलेका बहस प्राय इन्टरनेट स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको उल्लेख गर्दै इन्टरनेटका बहुआयामिक पक्षमा छलफल गर्दै बुझ्नुपर्ने बताए ।

इन्टरनेट सेक्युरिटी विज्ञ सचिन ठकुरीले इन्टरनेटमा चौतर्फी हमला भइरहेको भन्दै इन्टरनेटको सुरक्षाका लागि नीति ल्याउन र नागरिकमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

इन्टरनेट सोसाइटी नेपालका कार्यवहाक अध्यक्ष रोमकान्त पाण्डेले इन्टरनेटको सही प्रयोगका लागि सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पत्रकार उमेश श्रेष्ठले इन्टरनेटमा सही समाचार भन्दा सनसनीपूर्ण र फेक न्यूज भाइरल बन्ने प्रवृति बढेको बताउँदै सोसल मिडियाको दुरुपयोगले गर्दा मूल धारको पत्रकारितामा थप चुनौती सिर्जना भएको बताए। उनले विश्व बजारमा नै समाचारका उत्पादकभन्दा वितरक शक्तिशाली भएको बताउँदै इन्टरनेटको दुरुपयोगबारे बेलैमा सचेत हुनपर्ने बताए ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले इन्टरनेट महिलामैत्री नभएको र महिलाको पहुँच पनि कम रहेको बताइन् । अधिवक्ता पवित्रा राउतले सबैमा इन्टरनेट साक्षरता नहुँदा दुरुपयोग बढेको बताइन् ।

त्रिभवन विश्व विद्यालयको पत्रकार तथा आमसञ्चार विभागका उपप्राध्यापक लेखनाथ पाण्डेले पछिल्लो समय पाठक तथा स्रोता शक्तिशाली बनेको बताउँदै सूचनालाई छनोट गरेर लिन आवश्यक भएको बताए ।

शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुङ्गानाले इन्टरनेटले गर्दा वैयक्तिक स्वतन्त्रा खुम्चिदै गएको बताए । इन्टरनेट सोसाइटी नेपालका उपाध्यक्ष सुरज अधिकारीले पछिल्लो समय इन्टरनेटले जादुमय जस्तो भएको बताउँदै यसको दुरुपयोग रोक्नका लागि सामूहिक प्रयास जरुरी रहेको बताए ।

प्रदेश नं ३ का सञ्चार जजिष्ट्रार रेवती सापकोटाले इन्टरनेट साक्षरता बढाउन सरकारले विशेष ध्यान दिने भन्दै आम्दानीको स्रोत बढाउन र चर्चित हुनका लागि इन्टरनेट दुरुपयोग बढाउन नहुने बताए ।

सम्मेलनमा सचिन ठकुरीले इन्टरनेट सेक्युरिटी इन नेपाल, सन्तोष सिग्देलले इन्टरनेट गभर्नेन्स इन नेपाल, नीतु पण्डितले जेन्डर एण्ड फ्रीडम इन नेपाल, केपी ढुङ्गानाले प्राइभेसी एण्ड इन्टरनेट इन नेपाल र उमेश श्रेष्ठले इन्टरनेट एण्ड जर्नालिजम इन नेपाल सम्बन्धी अनुसन्धानमूलक कार्यपत्र पेश गरे । त्यसमाथि विज्ञ तथा सहभागीले टिप्पणी तथा सुझाव दिएका थिए ।

Loading...