सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ । 

बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि एउटा गाडीले ठक्कर दिएको थियो। जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो। उज्यालो नभइसकेको झिसमिस मौसमका कारण गाडीको नम्बर सिसिटिभी क्यामरामा पनि नदेखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उक्त क्षेत्रमा रहेको सिसिटिभी क्यामराबाट प्रहरीले फुटेज निकालेको थियो। फुटेजमा बसजस्तो ठूलो गाडी देखिए पनि नम्बर पहिचान गर्न नसकिएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताए।

कोटेश्वर ट्राफिकले घटनाबारे अनुसन्धान गरिरहेको छ। त्यहाँ कार्यरत प्रहरीका अनुसार सिसी क्यामरा उल्टो फर्केका कारण गाडीको नम्बर प्लेट देखिएन।

उक्त गाडी बानेश्वरबाट तीनकुनेतर्फ गइरहेको प्रहरीको भनाइ छ। तर, ठक्कर दिएर उक्त गाडी कता भाग्यो प्रहरीले सुइँको पाएको छैन।

‘सिसिटिभी अध्ययन गरिरहेका छौं, पत्ता लाग्छ। केही समय लागेको मात्र हो,’ परिसर प्रवक्ता बोगटीले भने।  

Loading...