सत्तारुढ नेकपाले गर्याे जर्मनीको वामपन्थी पार्टी डि लिंकेसँग ६ बुँदे सम्झौता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जर्मनीको वामपन्थी पार्टीसँग ६ बुँदे समझदारी गरेकाे छ । विश्वका वामपन्थी कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध विस्तार गर्ने क्रममा नेकपाले जर्मनीकाे डि लिंके पार्टीसँग यस्ताे समझदारी गरेकाे हाे । नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाले ६ बुँदे समझदारी गरी अापसमा आदानप्रदान गरेका छन । यसअघि नेकपाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि पनि ६ बुँदे समझदारी गरेको थियो।

डि लिंके जर्मनीको वामपन्थी पार्टी हो। नेकपा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दुई पार्टीबीच भएको सम्झौतामा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने, विभिन्न तहको भ्रमणहरुको आदानप्रदान गरेर द्वीपक्षीय सम्बन्धलाई मजबुत बनाउने, समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा साझा धारणा बनाउने, अध्ययन भ्रमण र सैद्धान्तिक गोष्ठीहरुको आयोजना गर्ने जस्ता विषयहरु रहेको छन्।

सम्झौतामा नेकपाका विदेश विभागका प्रमुख माधवकुमार नेपाल र डि लिंकेका अन्तर्राष्ट्रिय आयोगका प्रमुख हाइन्ज बिइबामले हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल र डि लिंकेका विदेश विभागका उपप्रमुख बिइबामबीच उक्त सम्झौतापत्र आदानप्रदान भएको छ।

नेकपा विदेश विभागको निमन्त्रणमा नेपाल भ्रमणमा आएको डि लिंकेको टोलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेको थियो। टोलीमा पार्टीको केन्द्रीय सचिव यर्ग सिन्मर, उपप्रमुख जनिन विस्लर रहेका थिए।

डि लिंके जर्मनीको पाँचौ ठूलो राजनीतिक दल हो। ७०९ सदस्यीय संसदमा सो दलको ६९ स्थान रहेको छ। यस पार्टीको संगठन जर्मनीको १६ वटै प्रदेशका ३५९ वटै जिल्लामा रहेको छ। कूल ६१ हजार ५ सय पार्टी सदस्य मध्ये ३६.५ प्रतिशत महिला छन्।

Loading...