कालोपोके र फौजीकीराको आक्रमण बढेपछि धान उत्पादनमा कमि

पाल्पा, ६ मङ्सिर । चार वर्षदेखि लगातार धान उत्पादनमा वृद्धि भएको पाल्पा जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको छ । धानको बाला राम्रो भए पनि दाना कम भएकाले यस वर्ष धानको उत्पादन कमी हुने भएको हो । पाल्पाका विभिन्न फाँटमा लगाइएको धान खेतीमा देखिएको विभिन्न रोगको आक्रमणलाई समयमै निराकरण गर्न नसक्दा पनि उत्पादनमा कमी आउने भएको हो ।

पाल्पाको धान खेती हुने फाँटमा धान स्याहार्ने बेलामा कालोपोके र फौजीकीराको आक्रमण बढेपछि धान उत्पादन घट्ने किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र पाल्पाले गत वर्षको तुलनामा यो वर्ष छदेखि आठ प्रतिशतले धान उत्पादनमा कमी आउने प्रक्षेपण गरेको छ । केन्द्रका प्रमुख शिवप्रसाद अर्यालका अनुसार गत वर्ष ३५ हजार ८८ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यो वर्ष धान उत्पादन घट्ने प्रारम्भिक तथ्याङ्क प्राप्त भएको उनले जानकारी दिए । पाल्पाका किसानले भने धान उत्पादन २० प्रतिशतले घटेको बताएका छन् । अधिकांश किसानले गत वर्षभन्दा यो वर्ष २० प्रतिशतले धान उत्पादनमा कमी भएको बताएका छन् । पाल्पाको माडीफाँट, कचल, अर्गलीका किसानले धानका बालामा २५ प्रतिशत कालोपोके बताएका छन् । कालोपोकेका कारण यस वर्ष धान उत्पादन कम भएको माथागढी–२, रुप्सेका किसान दामोदर अधिकारीले बताए ।

रामपुर फाँट, गेझा फाँट र पूर्वखोलामा गरिएको धान खेतीमा फौजीकीराको आक्रमणले उत्पादन घट्ने छ । गत वर्ष एक रोपनी क्षेत्रफलमा छ मुरी धान फलेको थियो । पाल्पा रामपुरका किसान कमलराज भट्टराईले भने यो वर्ष अधिकांश किसानको चार मुरी फलेको छ । समयमै मल नपाउँदासमेत उत्पादन घटेको उनको बताए ।

अहिले कृषि क्षेत्र हेर्ने जिम्मा गाउँपालिका/नगरपालिकाले पाए पनि प्राविधिक कर्मचारी परिचालन गर्न नसकेको किसानको गुनासो छ । यहाँका किसानले लगाएको धानलगायतका बालीमा रोग लाग्दा कृषि प्राविधिक फिल्डमा उपस्थित नहुँदा र बालीको समयमै उपचार हुन सकेको छैन ।

Loading...