विप्लवका बरिष्ठ पोलिटब्यूरो सदस्यले गरे पार्टी परित्याग

काठमाडौं, ३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् ।
सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आजै एक विज्ञप्ति जारी गर्दै आफू अब स्वतन्त्र रुपमा रहने जानकारी गराएका छन् ।

विद्रोही नेकपाले केही समयअघि मात्र उक्त पार्टीको सांगठनिक संरचना परिवर्तन गरेको थियो । पार्टीको स्थायी समिति र पोलिटब्यूरोको संरचना नै खारेज गरिएको थियो । पोलिटब्यूरो संरचना खारेज गरिएपछि धमलालाई पार्टीको केन्द्रीय समितिमा पनि राखिएको थिएन । पार्टीले धमलासहित पोलिटब्यूरो सदस्य मोहन कार्की पनि हटाइएका थिए । धमला र कार्कीसहित सो पार्टीले करिव २१ जना केन्द्रीय समिति सदस्यहरुलाई केन्द्रीय समितिबाट हटाएको थियो । त्यसमध्ये धेरैले पार्टीले आफूहरुलाई सोध्दै नसोधेर, कमिटिको बैठक नै नबसेर कुनै पनि प्रक्रिया नपु¥याइ हटाएको भन्दै कडा टिप्पणी गरेका थिए ।

यसैक्रममा पार्टीको निर्णयप्रति असन्तुष्ट रहेका धमलाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफू पार्टीले लिएको पछिल्लो योजना र समग्र विषयमा सहमत हुन नसकेको जानकारी गराएका छन् । उनले भनेका छन्, “विगत लामो समय देखि नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्वगर्दे आइरहेकोमा पार्टीको पछिल्लो योजनार समग्र विषयमा सहमति हुन सकिन ।”

नेता धमलाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

उपरोक्त सम्वन्धमा म विगत लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दै आइरहेकोमा पार्टीको पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिन । तसर्थ सांगठनिक रुपमा म उक्त पार्टीमा नरहने घोषणा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दे आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टीलाई परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहनेछु ।

कृष्ण धमला ’गम्भीर’

पूर्व पिविएम

नेपाल कम्युनिष्ट पार्टी

Loading...