तल्लो डोल्पामा पर्ने मुड्केचुलामा मोबाइल टावर सञ्चालन

डोल्पा, २ मङ्सिर । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो । दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसातादेखि सिङ्गो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी र्दिए ।

भरपर्दो टावर नहुँदा पटकपटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए । काइके गाउँपालिकामा भने टेलीफोन सेवा अझै सञ्चालन हुन सकेको छैन ।

Loading...