अमेरिकी बमवर्षक विमान खसाइदिने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले अमेरिकाले आफ्नो देशमाथि युद्धको घोषणा गरेको भन्दै अमेरिकी बमवर्षक विमान खसाइदिने चेतावनी दिएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसहित उत्तर कोरियाली नेतृत्व ‘लामो समय नटिक्ने’ ट्विट गरेको बारे प्रतिक्रिया दिँदै विदेशमन्त्री रिले यस्तो चेतावनी दिएका हुन्।

‘गत सप्ताहन्तमा ट्रम्पले हाम्रो नेतृत्व लामो समय नटिक्ने दाबी गरे र हाम्रो देशविरुद्ध युद्धको घोषणा गरे,’ सोमबार न्युयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै रिले भने।

‘अमेरिकाले हाम्रो देशविरुद्ध युद्धको घोषणा गरिसकेपछि आत्मरक्षाका लागि सबै खालको उपाय अपनाउने अधिकार हामीसँग हुनेछ। त्यसैले अमेरिकी रणनीतिक बमवर्षक विमान हाम्रो देशको हवाइ सीमामा प्रवेश गरिनसक्दै जुनसुकै बेला त्यसलाई खसाउने अधिकार हामीसँग हुनेछ,’ रिले भने, ‘सारा संसारले सम्झनुपर्नेछ, अमेरिका त्यस्तो देश हो, जसले हाम्रो देशमाथि पहिले युद्धको घोषणा गरेको थियो।’

अमेरिकी युद्धक विमानले उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शन गरेको दुई दिनपछि रिले यस्तो चेतावनी दिएका हुन्।

अमेरिकी बमवर्षक बी-१

उत्तर कोरियाली विदेशमन्त्रीको यस्तो चेतावनीपछि अमेरिकाले उत्तर कोरियामाथि युद्धको घोषणा गरेको अस्वीकार गरेको छ। ह्वाइट हाउस प्रेस सेक्रेटरी सारा स्यान्डर्सले यस्तो विचार ‘निरर्थक’ भएको प्रतिक्रिया दिएकी छन्।

पेन्टागन प्रवक्ता कर्णेल रोबर्ट म्यानिङले उत्तर कोरियाले उत्तेजना बढाउने गतिविधि नरोके राष्ट्रपति ट्रम्पलाई सो देशबारे ‘विकल्पहरु उपलब्ध गराउने’ बताएका छन्।

संयुक्त राष्ट्रसंघले यस्ता आवेशयुक्त भनाइले घातक असमझदारीतर्फ डोर्‍याउनसक्ने बारे सचेत गराएको छ।

रि योङ हो

त्यसैगरी दक्षिण कोरियाले सो क्षेत्रमा दुर्घटनावश हुने भीडन्त तत्काल अनियन्त्रित बन्नसक्ने बताएको छ।

तनावमा वृद्धि भएसँगै उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा रक्षात्मक क्षमतामा वृद्धि गरेको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले मंगलबार जनाएको छ। एजेन्सी

Loading...