प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प

चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा एक सवारी साधनभित्र ती युवाले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घाइते कँडेलको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए। 

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर फर्कने क्रममा महिलाहरुमाथि दुर्व्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा एक सवारी साधनभित्र ती युवाले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।  चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।  

यसैबीच प्रहरीले पक्राउ गरेका युवकको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर उनीहरुले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आज विहान मृत्यु विरोधमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।

प्रहरीले अहिले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।

 

Loading...