रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो

चितवन, २९ कात्तिक । रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको हो ।

यसैगरी बालीनाली, घरपालुवा जनावर र घरगोठको क्षति भएमा पनि क्षतिका आधारमा बीमा भुक्तानी गरिने उनले जानकारी दिए । नगरपालिकाका प्रेस सल्लाहकार होमनाथ सापकोटाका अनुसार नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषले रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा गरिएको छ ।

नगरपालिकाले वडा नं ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रका विपन्न परिवारको पहिलो चरणमा बीमा गरेकामा एक निजी बीमा कम्पनीसँग सम्झौता भइसकेको र शुक्रबारबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दिाले वन्यजन्तुका कारण जनधनको क्षति व्यहोर्दै आएका छन् ।

Loading...