पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

नेपालगञ्ज, २९ कात्तिक । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ ।तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रूपमा रहेको छ । बाह्रै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थलले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरब सागरबाट चराहरु आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

केही वर्ष अघिसम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारूले बताए । यो ताल गाउँपालिका–४ र ५ को बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Loading...