सत्तारुढ दलको युवा संगठनमा चरम विवाद, छोरालाई नेता नबनाए पार्टी नै छोड्ने धम्की दिन्छन नेताहरु

दैलेख । लामो समय बित्दा पनि पार्टी एकता टुंगो लगाउन नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कतिपय नेताहरुमा चरम पारिवारिक मोह देखिएको छ । नेताहरुको चरम पारिवारिक मोह तथा अन्य स्वार्थकै कारण पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न नसकेको देखिएको छ ।

यसैक्रममा दैलेख जिल्लाको युवा संगठनमा पार्टीका जिल्ला नेताहरुको पारिवारिक मोहका कारण ठूलो विवाद देखा परेको छ । नेकपाको युवा संगठन राष्टिय युवा संघ नेपालले एकता प्रक्रिया टुंगो लगाउन केही समय अघि देशभर ७७ वटा जिल्लाकै संयोजक र सहसंयोजक तोकेको थियो । साविकको युवा संघ नेपाल र योंग कम्युनिस्ट लिग (वाइसिएल)का बीच भएको सहमति अनुसार दैलेख जिल्लामा संयोजक र सहसंयोजक तोकिएका थिए । तर, दैलेख लगायत केही जिल्लामा भने आन्तरिक विवादका कारण अहिलेसम्म पनि पार्टीले युवा संगठनका संयोजक बनाउन सकेको छैन ।

दैलेख जिल्लामा पूर्व एमालेले संयोजक र पूर्व माओवादी केन्द्रले सहसंयोजक पाएको थियो । पूर्व एमालेभित्र दुईवटा समानान्तर कमिटि बने । एक पक्षले उपेन्द्र शाही र अर्को पक्षले राजु खड्कालाई युवा संघको अध्यक्ष घोषणा गरे । पछि दुबै कमिटिकाबीच सहमति गराएर पार्टीले उपेन्द्र र राजु दुबैको नेतृत्व खारेज गरेको थियो । उपेन्द्र र राजुलाई खारेज गरेर जीवनकुमार शाहीलाई युवा संगठनको संयोजक बनाउने सहमति समेत गरिएको थियो ।

एकातिर दुई समूहकाबीच सहमति भई जीवनलाई संयोजक बनाउने निश्चित भइसकेको अवस्थामा अर्का भिलेन देखा परे जसले जीवनको नेतृत्वलाई कुनै हालतमा पनि हुन नदिने षडयन्त्र गरे । उनी थिए हाल एकीकृत पार्टीका जिल्ला संयोज कबनेका रविन्द्र शर्मा । पार्टीका जिल्ला संयोजक शर्मा नै त्यसरी भिलेनका रुपमा देखा परेपछि सहमतिमा संयोजक बनाउन खोजिएका जीवनकुमार शाहीको नाम पनि अन्तिम समयमा आएर काटियो । जसकारणले अहिलेसम्म नेकपा दैलेखको युवा संगठनको नेतृत्व तोकिएको छैन ।

पार्टीका जिल्ला संयोजक रविन्द्र शर्मा पूर्व एमालेका हुन् । अचम्म त यो छ कि उनले अर्को व्यक्तिलाई संयोजकका रुपमा अगाडि सारेका छन् । उनले अघि सारेका पुन्य शर्मा उनकै भतिज हुन् । उनी भतिज पुन्य शर्मालाई युवाको संयोजक नबनाएमा आफूले समेत पार्टी परित्याग गर्नेसम्मको दवाव उनले पार्टीमा दिएको स्रोतको दावी छ ।

शर्माको पारिवारिक मोह र पदीय आशक्ति देखेर अहिले पूर्व माओवादी केन्द्रका नेताहरु पनि आजित भएका छन् । संयोजक पार्टी र युवा संगठन दुबैको नेतृत्व पूर्व एमालेले लिएको र उनीहरुभित्रै समानान्तर कमिटिहरु बन्न थालेपछि पूर्व माओवादी केन्द्रका नेता कार्यकर्ता निरास बनेका छन् । उनीहरुले पनि अन्य ठाउँमा आफ्नो दावी गर्न सुरु गरेका छन् ।

पछिल्लो समय नेकपाको दैलेख जिल्ला पार्टीमा विवादै विवाद हुने गरेका छन् । जिल्ला कमिटिदेखि गाउँ कमिटिसम्मै चर्को विवाद भएको छ । सबैतिर समानान्तर कमिटिहरु बनाउने क्रम सुरु भएको छ । जिल्ला तहको नेतृत् वगर्न जिम्मेवारी दिइएका नेताहरुमा परिवार मोह, आफन्त मोह र पद पाउन विभिन्न खालका घुर्की धम्की र गटवन्दी गर्ने क्रम बढेपछि गाउँ कमिटिहरुमा पनि त्यो रोग सल्किएको छ ।

Loading...