सुविधा सामुदायिक एकाइ स्थापना

बेत्रावती, २८ कात्तिक । नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एकाइलाई सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न शुरु गरिसकेकाले अबको एक वर्षभित्रै बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य एकाइ कार्यालयले स्थापना भए पनि आवश्यक औषधि, जनशक्ति र उपकरणको व्यवस्था मिलाएर प्रभावकारी बनाउन आफू लागि पर्ने वडा नं ६ का वडाध्यक्ष हरिशरण लामिछानेले बताए ।

हाल स्वास्थ्य एकाइमा एक/एक जना एचए, अनमी र कार्यालय सहयोगी दुई जना गरी चार जनाको दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गरिएको छ । उक्त कार्यालयबाट नेपाल सरकारमार्फत उपलब्ध गराइएको निःशुल्क औषधि, खोप सेवा, सामान्य स्वास्थ्य जाँच तथा परीक्षण सुविधा सञ्चालनमा ल्याइएको हो ।

हाल स्थापना गरिएको स्वास्थ्य एकाइको कार्यालय हाल भाडाको भवनबाट सञ्चालनमा ल्याइएको छ भने नयाँँ भवन बनाउन स्थानीय भगवती पाण्डे र कल्याणभक्त पाण्डेले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वास्थ्य एकाइ व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष लामिछानेले नयाँ भवनका लागि स्वास्थ्य विभागबाट रु ३९ लाख प्राप्त भएर निर्माण शुरु गर्न लागिएको जानकारी दिए ।

Loading...