भारतबाट नेपाल फर्कन लागेका नेपाली सीमामा धमाधम लुटिन थाले

भीमदत्तनगर, ९ असोज । भारतमा काम गरेर दशैँ पर्व मनाउन घर फर्किन लागेका नेपालीहरु सीमा क्षेत्रमा धमाधम लुटिन थालेका छन् । प्रत्येक वर्ष यसरी नै सीमा क्षेत्रमा नेपालीहरु लुटिने गरेका छन् । यसैक्रममा पाँच जना नेपाली भारतमा लुटिएको खबर छ ।

भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताए ।

लुटिएका पाँचै जना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर प्रहरीको सम्र्पकमा आएका थिए । प्रहरीले उनीहरुलाई हेल्प डेस्कको सहयोगबाट घर पठाउने गृहकार्य गरिरहेको जनाएको छ । यसअघि पनि यस क्षेत्रमा नेपालीहरुमाथि लुटपाट हुने गरेको थियो । देशका अन्य नाकाहरुमा पनि भारतबाट फर्किने नेपालीहरु यसरी नै लुटिने गरेका छन्् ।

Loading...