पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका

मेलम्ची, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छन् । दीर्घकालीन रुपमा पर्यटन प्रवद्र्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेका हुन् ।

जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी रु तीन करोड विनियोजन गरेको छ । नगर प्रमुख अमानसिंह तामाङले प्रत्येक वर्ष नगरपालिकामा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । नगरपालिकाको पश्चिम मोडमा पर्ने दारेगौँडामा शिव र बुद्धको ठूला मूर्ति बनाउन रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए ।

हाइवेबाट दारेगौँडासम्म पुग्ने ६०० मिटरको आकर्षक सिँढीबाट मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । मूर्ति र सिँढी निर्माणको काम केही दिनमै शुरु गरिँदैछ । भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा आगामी फागुन १ देखि ७ गतेसम्म सुकुटे महोत्सव गरिँदै छ । महोत्सवमा आएका पर्यटकलाई ओखरेनी लेकको चियाबगान र स्याउलेको चमेरो गुफासम्म पु¥याउने योजना बनाइएको छ । सुनकोशी नदीको किनार सुकुटेबाट लेकाली चियाबगान ओखरेनीसम्म पु¥याउन पर्यटन पूर्वाधारका काम शुरुआत गरेको छ ।

राजधानी काठमाडाँैसँग जोडिएको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालका अनुसार दुईवटा पदमार्ग, घरवास, सडक र धार्मिक क्षेत्रको पूर्वाधार निर्माणमा रकम खर्च गरिने छ । पर्यटकलाई ‘प्याकेज टुर’ गराउन १०१ र २०१ नम्बरबाट नामकरण गरी पदमार्ग निर्माणको काम शुरु गरिएको उनले बताए । भोटेचौरदेखि चिसापानी हुँदै मेलम्चीसम्मको पदमार्गलाई १०१ र मेलम्चीदेखि गुफाडाँडासम्मलाई २०१ नामकरण गरिएको हो । पदमार्ग लामोलामो भएकाले बीचबीचमा वास बस्न घरबासको अवधारणा ल्याइएको छ ।

कोदारी राजमार्गसँग जोडिएको बाह्रबिसे नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । वडा नं ६ मा रहेको भयौलीकुण्डलाई व्यवस्थित बनाउन प्रदेश नं ३ सरकारले दिएको रकमसमेत गरी नगरपालिकाले रु ४५ लाख बजेट छुट्याएको छ । वडा नं ८ को घुँडेमा दृश्यावलोकन स्तम्भ र बुद्धपार्क निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ ।

नगर प्रमुख निम्फुञ्जो शेर्पाले भ्रमण वर्षलाई समेत ध्यान दिएर बजेट ल्याइएको बताउनुभयो । धार्मिकस्थल कालीञ्चोक जाने सडकमा गत गतवर्ष रु ३० लाख खर्च गरेको र यो वर्ष पनि कम्तीमा रु ५० लाख खर्च गर्ने लक्ष्य नगरपालिकाको छ । बाह्रबिसेबाट दोलखाको कालीञ्चोक पुग्ने सडक मध्य भागमा पुगेको छ । छोटो दूरी भएकाले सडक पूरा हुनसाथ यही बाटो भएर धार्मिक पर्यटकलाई कालीञ्चोक पु¥याउने योजना छ । बाह्रबिसेमा रहेको टुङटुङ गुफा र झरनामा ‘रक क्लाइम्बिङ’का लागि जर्मनी संस्थाले काम शुरु गरेको उनले बताए । जिल्लाका अन्य नौ स्थानीय तहले पनि पर्यटन क्षेत्रमा ठूलै रकम छुट्याएका छन् ।

Loading...