काठमाडौंमा नेपाल र पाहुना देशका राष्ट्रपतिका फोटो जस्तै गरी नगरकोटका पोलपोलमा प्रचण्डका घरभेटीको फोटो टाँसियो

काठमाडौं, २६ कार्तिक । शैलुङ कन्स्ट्रसनका मालिक शारदा प्रसाद अधिकारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी हुन् । प्रचण्डसँगको निकट सम्बन्धकै कारण उनले ठूला ठूला ठेक्का पारेको भन्ने व्यापक चर्चाकैबीच अहिले नगरकोटका सडकमा अचम्मको दृष्य देखिने गरेको छ ।

राजधानीमा केही समययता उच्च तहका विदेशी पाहुना आउने क्रममा सडकका पोलपोलमा दुई देशका राष्ट्रप्रमुखका फोटाहरु झुन्ड्याउने गरिएको छ । केही समय अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र आजैमात्र नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिर नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पोलपोलमा टाँसियो ।

ठीक त्यसैगरी उता नगरकोटमा भने प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीको फोटो पोलपोलमा टाँसिएको छ । तर, नगरकोटमा टाँसिएको शारदाप्रसाद अधिकारीको फोटो उनको स्वागतका लागि भने टाँसिएको होइन । नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले अधिकारीप्रति आक्रोश पोख्न यस्तो फोटो टाँसेका हुन् ।

सैलुङ कन्स्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे गर्ने लामो समयदेखि ठेक्का लिए पनि कालोपत्रे नगरेपछि स्थानीय व्यवसायीले उक्त ठेकेदार कम्पनीका मालिक अधिकारीको फोटो पोल पोलमा टाँसेका हुन् ।

अनौठो त यो छ कि पोलमा शारदा प्रसाद अधिकारीको फोटो मात्र छैन, त्यही फोटोको शिरमा बाँदर र कुकुरको फोटो पनि टाँसिएको छ । बाँदर र कुकुरको फोटो सँगै ठेकेदार अधिकारीको फोटो जोडेर त्यसको तल नगरकोटको सडक कालो पत्रे गर भनी लेखिएको छ।

नगरकोट एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। सडक नबनेपछि पर्यटकहरूले दैनिक सास्ती खेपिरहेका स्थानीयको तर्क छ। अहिले स्थानीयहरू आजित भएपछि अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएको छ। कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।

नगरकोटसम्मको बाटो बनाउनका लागि सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।

Loading...