नेपालमा सुरु भयो नवौँ विश्व रेन्जर सम्मेलन

चितवन, २६ कात्तिक । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ ।

यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन गर्न समिति गठन गरेको छ । समितिका संयोजक ढकालका अनुसार सम्मेलनमा नेपालसहित ७२ देशका ५५० प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिनुभयो ।

त्यसैगरी यससँगै प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञले आआफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरूको साझा संस्था आइआरएफ हो ।

सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Loading...