सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत

काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उनले नेपाली गीतसङ्गीतको स्वाद लिए ।

उनको स्वागत तथा सम्मानमा विमानस्थलमा कलाकारले प्रदेश नं १ को मारुनी, प्रदेश नं २ को झाँगड, प्रदेश नं ३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश नं ५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य पस्केका थिए । रातो साडी, चोली र जामामा देखिएका महिला कलाकार घुम्टो ओढेर छड्के तिलहरीमा सजिएका थिए । कानमा ढुङ्ग्री, शिरमा शिरबन्दी तथा शिरफूल लगाएर प्रदेश नं १ का कलाकारले मारुनी नृत्य प्रस्तुत गरे ।

मौलिक पोशाकमा रहेका पुरुष कलाकारले तरबार र ढाला प्रदर्शन गर्दै मौलिक नृत्य देखाए । उनीहरुलाई प्रहरीको सङ्गीत विद्यालयका नृत्य निर्देशक जलमाया गुरुङ र प्रदीप हमालले निर्देशन गर्नुभएको थियो । अर्कातर्फ नेपाली मौलिक पोशाक (गुन्यु, चोली र नेपाली टोपीसहित दौरासुरुवाल) मा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले उनलाई बङ्गाली भाषामै स्वागत गरे । आफ्नै भाषामा स्वागत पाउँदा उनले ‘भालो आसी’ भनेर हात हल्लाउँदै अभिवादनका साथ स्वागत स्वीकार्नुभयो । हातहातमा नेपाल र बङ्गलादेशको झण्डा फहराउँदै बालबालिकाले स्वागत गर्दा राष्ट्रपति हमिदको मुहार चम्किलो देखिन्थ्यो ।

यसअघि विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायतातमन्त्री रघुवीर महासेठले र अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई स्वागत गरेका थिए । उनलाई अतिविशिष्ट कक्षाको मूल प्रवेशद्वारमा पञ्चकन्याले पुष्पहारले स्वागत गरे । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चार दिवसीय सद्भावना भ्रमणका लागि आएका राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारी उपस्थित थिए ।

विमानस्थलको बाहिरी प्रवेशद्वार आसपास सर्वसाधारण, स्काउटका विद्यार्थीले झण्डा फहराउँदै अभिभादन गरेका थिए । विभिन्न जातजातिको मौलिक पोशाक लगाएर झाँकीसहितको नृत्य प्रस्तुत गरी विशिष्ट पाहुनाको स्वागत गरिएको थियो । सुरक्षाका लागि ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । उनको स्वागतमा सडकमार्गका खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ भने ठाउँठाउँमा दुवै देशको झण्डा फहराइएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वारसमेत बनाइएको छ । आजै उनले भक्तपुरको सम्पदा क्षेत्रसमेत अवलोकन भ्रमण गरे ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षीले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीे नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही साँझ रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताले पनि शिष्टाचार भेट गर्नेछन । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रागिरि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भ्रमण सकेर यही कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।

Loading...