३४ वर्षपछि पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सकियो

बैतडी, ९ असोज । चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।

कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए ।

“पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम भइरहेको छ”– उनले भने, “चालु आवमा स्याडीगाडसम्मको १३ किमी कालोपत्र भइसक्ने छ ।” अहिले स्याडीगाडसम्म सडकलाई कालोपत्र गर्ने कार्य भइरहेको छ ।

यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किमीलाई कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पुलसमेत निर्माण भइसकेको छ ।

यसैबीच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाको सडक सपना करिब ३४ वर्षपछि पूरा हुने भएको छ । आव २०४०÷४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गरेको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आवमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।

सडकको पहुँच भएपछि भारतको निरर्भता हटेको स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, “दैनिक उपभोग्य सामानका लागिसमेत भारत जानुपर्ने बाध्यता हट्दै गएको छ ।”

यस्तै तल्लोसोराडमा सडक पुगेपछि कृषिउपजले पनि बजार पाएकाले किसान व्यावसायिक खेतीतर्फ लागेका छन् ।

Loading...