विश्व नेपाली साहित्य महोत्सव धनगढीमा गरिने

अत्तरिया, २६ कात्तिक । कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

इतिहासमै पहिलोपटक हुन थालेको साहित्य महोत्सवले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत मिल्ने उनले बताए । उनले महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, जापानलगायत विभिन्न देशमा बसेर नेपाली भाषा र साहित्यको उन्नयन तथा विकासमा समर्पित स्रष्टाको सहभागिता रहने बताए ।

साहित्य महोत्सवमा दुई करोड ४४ लाख खर्च हुने अनुमान गरिएको विश्व नेपाली साहित्य महोत्सव २०७६ मूल समारोह समितिका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए । महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति, साहित्य, प्रकृति, पर्यटन, विकास, निर्माणका मुद्दा, देवस्थल, सम्पदा तथा पहिचान झल्किने सबै कला संस्कृतिको प्रस्तुति रहने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र लोकन्द्रबहादुर चन्दलगायत बहालवालामन्त्री तथा पूर्वमन्त्री, सङ्घीय तथा प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधको सहभागिता रहने आयोजकको भनाइ छ ।

महोत्सवको आवश्यक तयारीका लागि एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न समिति तथा उपसमिति पनि गठन गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए । महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको ठम्याइ छ ।

Loading...