प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् ।

ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि ती व्यक्तिको सम्पूर्ण हिसाबले स्वास्थ्य परीक्षण गराइएको थियो । मृगौला प्रधानमन्त्री ओलीका लागि म्याच हुने निश्चित भएपछि मात्र उनलाई उता पठाइएको दाबी स्रोतको छ ।

१२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसपटक भने सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा मृगौला फेर्ने भएका छन् । प्रम ओली आगामी साता नै सिंगापुर जाने बताइएको छ । १२ वर्ष अघि मृगौला प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आएका ओलीको औषधिका कारण रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण समय समयमा स्वास्थ्यमा समस्या देखिने गरेको छ । मृगौलाले राम्ररी काम गर्न छाडेपछि गत साउन १८ र भदौ ५ मा पनि ओली सिंगापुर गएका थिए ।

त्यहाँ उनको प्लाज्माफेरेसिस गराइएको थियो । शरीरमा हुने एण्टिबडीका कारण प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना हुन्छ । ओलीमा त्यही समस्या देखिएको चिकित्सकहरु बताउँछन् । एण्टीबडी फाल्ने विधिलाई प्लाज्माफेरेसिस भनिन्छ । केही दिनअघि ज्वरो भएका कारण प्रधानमन्त्रीलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

स्रोतका अनुसार नियमित डायलाइसिस गर्दा पाको शरीरले धान्न गाह्रो पर्ने भएकाले पुनः मृगौला प्रत्यारोपण गर्ने चाहना प्रधानमन्त्री ओलीको छ । चिकित्सकहरुका अनुसार मृगौला पुनः प्रत्यारोपण गर्न सम्भावना हुन्छ । तर, प्रधानमन्त्री ओलीको शरीरले पुनः अर्को मृगौला स्वीकार गर्छ या गर्दैन भन्नेबारे चिकित्सकले बताउन सकेका छैनन् । त्यसैले जोखिम मोल्नुभन्दा हालका लागि डायलाइसिस नै उत्तम विकल्प हुने सुझाव चिकित्सकहरुले दिइरहेका छन् । तर, ओली फेरि प्रत्यारोपण गर्न मनस्थितिमा छन् । नेकपाको शीर्ष नेतृत्व तहमा पनि प्रधानमन्त्रीको पुनः प्रत्यारोपण गराउने कि डाइलाइसिस जारी राख्ने भन्ने छलफल भइरहेको छ ।

Loading...