सामाजिक शान्तिका लागि अन्तरधार्मिक संवाद बढाउन मिडियाको भूमिकामाथि जोड

 

काठमाडौं, २२ कार्तिक । सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्तरधार्मिक शान्ति महासंघ नेपाल (आइपीएफएन)ले राजधानीमा आयोजना गरेको शान्ति स्थापनाका लागि अन्तरधार्मिक संवाद र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरुबीचको सहकार्यमा जोड दिएका हुन् । साथै वक्ताहरुले सामाजिक संवादलाई जीवन्त बनाउन मिडियाले ठूलो भूमिका खेल्नेमा जोड दिँदै मिडियाले यी विषयलाई महत्व दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसहित ३० जनाभन्दा बढी विभिन्न रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । त्यसैगरी हिन्दु, किरात, मुस्लिम, क्रिस्टियन, बुद्धिस्ट, बहाई धर्मका अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालमा इन्टरफेथमा काम गर्ने विभिन्न संस्थाहरुले हालै बनाएको महासंघले विभिन्न मिडिया सञ्चारकर्मी तथा पत्रकारहरुसँग संवाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमममा बोल्दै अन्तरधार्मिक शान्ति ममहासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ लिम्बुले मिडियाबाट जाने सन्देशले समाजमा ठूलो असर र प्रभाव पर्ने भएकोले अन्तरधार्मिक विषयलाई गहिरिएर लेख्न आग्रह गरे । उनले सबैको उद्देश्य समाजमा शान्ति कायम गर्नेतिर भएको भन्दै मिडियाले यो भावनालाई तोड्नेतिर नभई जोड्नेतिर भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्टरफेथका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नरेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले इन्टरफेथ डायलगका बारेमा प्रस्ट पार्दै मिडियाले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरे । उनले आफ्नो कार्यपत्रमा नेपाली मिडियाको अहिलेसम्मको भूमिकालाई केलाउनुका साथै कमिकमजोरीहरुमाथि पनि चर्चा गरे । उनले मिडियाले सत्यको तोडमरोड गर्न नहुने, अर्काको आस्थामाथि चोट पु¥याउन नहुने र सबैले मानव हितका लागि सोच्नुपर्नेमा जोड दिए ।

युनाइटेड मिशन टु नेपालको सहयोगमा आइपीएफएनले आगामी दिनमा यो संवादलाई व्यापक बनाउँदै लैजाने बताएको छ । कार्यक्रममा उपस्थित विभिन्न मिडियाकर्मीहरुले पनि आआफ्ना बुझाई प्रस्तुत गर्नुका साथै आयोजकलाई आफ्ना सुझाव र जिज्ञासा राखेका थिए ।

Loading...