जिल्ला अस्पतालमा चिकित्सक अभाव

खाँदबारी, २० कात्तिक, । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगे । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो । आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भने, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको पढाइ सकेर आएका परीक्षणमा काम गरिरहेका चिकित्सक, स्वास्थ्य सहायक र अहेबको भरमा चलेको छ ।

अस्पताल बसाइँको अवधिमा बिरामी कार्कीले सामान्य रोगको उपचारका लागि आएका बिरामीलाई पनि त्यहाँ कार्यरत चिकित्सकले धरान, विराटनगर वा काठमाडौँं लैजान भन्ने गरेको देखेको अनुभव सुनाए । दशैँ र तिहारलगायतका चाड मनाउन घर गएका चिकित्सक अहिलेसम्म नफर्किएको स्थानीयवासी छत्रमणि काफ्लेले बताए । सघन उपचार कक्षमा भर्ना भएका बिरामीलाई चेकजाँच गर्न चिकित्सक आउदैनन् ।

पटक–पटक फोन गरेपछि एक पटक आउँछन्, अनि हेरेजस्तो गरेर हिँडिहाल्छन्, जान्ने बुझ्नेलाई पनि जिल्ला अस्पतालमा सेवा लिन समस्या छ । चिकित्सासेवा लिन अस्पताल आउनुभएका काफ्लेले भने “८ घण्टाको फरकमा लगाउनुपर्ने सुई १२ घण्टा वितिसक्दा पनि लगाउन आउँदैनन् । ” सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जिल्ला अस्पताल रहेको ५० श्ययाको क्षमताको अस्पताल हो । तर, चिकित्सक अभावमा स्वास्थ्य सहायक एचए विजय पराजुली र केही अहेबले ओपिडीमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन् ।

जिल्ला अस्पताल स्वास्थ्य सहायक९एचए० को भरमा सञ्चालन छ । दुईजना करारका चिकित्सक कार्यरत छन् । दरबन्दीका कोही चिकित्सक बिदामा बसेका छन् । भने कोही सरुवा भएर हिँडिसकेका छन् ।  कर्मचारी समायोजनपछि जिल्ला अस्पताल केही सातादेखि चिकित्सक बिहीन छ ।खाँदबारी अस्पतालमा सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत बिरामी आउने भएकाले सधँै भीड हुन्छ ।

यहाँ दैनिक ३०० बढी बिरामी उपचारका लागि आउ“छन् । एचए र अहेबलाई उनीहरुको स्वास्थ्यपरीक्षण गर्न भ्याइनभ्याइ हुने गरेको एचए पराजुलीले बताए। दक्ष चिकित्सक नहुँदा अस्पताल पुगेका बिरामी सामान्य चेकजाँचपछि फर्किनुपर्छ । जटिल प्रकारका बिरामीलाई शहरका अस्पतालमा उनीहरुले सजिलै पठाउने गरिदिन्छन् । अस्पतालको भौतिक अवस्था हेर्दा लाग्छ सुविधा सम्पन्न छ, तर अस्पतालले बिरामीलाई दिनुपर्ने सेवा भने एउटा प्राथमिक स्वास्थ्य केन्द्रको बराबर छ, बिरामीले रोग अनुसारको उपचार पाउदैनन्, काफ्लेले भने।

सबै खाले सेवाका सेवाकर्मीबीच समन्वय हुन नसक्नु र अधिकांश चिकित्सक हाजिर भएको केही दिनमै जिल्ला छाडेर फर्किने गरेको घटना यो अस्पतालका लागि नौलो हैन, काफ्लेले भने, । कर्मचारीको आ–आफ्नो घमण्डका कारण जिल्ला अस्पतालको अवस्था बिग्रिएको हो । चिकित्सकबीच तालमेल नहँुदा निक साईमन नामक संस्थाले निःशुल्क सञ्चालन गरेको २४ सै घण्टा शल्यक्रियासहितको प्रसूति सेवा पनि बन्द छ । ग्रामीण भेगका गर्भवती महिलालाई मध्यनजर गरेर सेवा सञ्चालनमा ल्याए पनि गर्भवती महिला ठूलो रकम खर्चेर शहरका अस्पताल जान बाध्य छन् । निक साइमनका चिकित्सकले सरकारी चिकित्सक र कर्मचारीले असहयोग गरेको आरोप लगाएका छन् ।

यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निक साइमन संस्थाले बिदामा बस्दा अर्का चिकित्सक उपलब्ध गराउने सम्झौता अस्पताल प्रशासनसँग गरेको छ । तर, उसले सेवा प्रभावित हुँदासमेत बेवास्था गरिरहेको छ । दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको हो । अहिले दैनिक पाँचजना भन्दा बढी प्रसूतिसेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य सरोज बज्राचार्य निक साइमनसँग चिकित्सक ल्याउने पहल भइरहेको बताउनुहुन्छ । बज्राचार्यले चिकित्सक नहुँदा समस्या भएको स्वीकारे । केही दिनमा सबै चिकित्सक आउने र सबै प्रकारका सेवा सुचारु हुने उनले बताए । करारका मेडिकल अधिकृतले नभ्याएपछि एचए र अहेबले ओपिडिमा चेकजाँच गरिरहेको र ५० श्ययाको अस्पताल डेढवर्ष अघिबाट मेडिकल अधिकृतको भरमा चलिरहेको पनि समितिका सदस्य बज्राचार्यले बताए ।

Loading...