सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

सिन्धुली, २० कात्तिक । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो ।

यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने अभियन्ता सौरभ ढकालले जानकारी दिए ।

सिन्धुलीको पहिचानसँगसँगै नाम जोडिएर आउने जुनारको पनि प्रचार–प्रसार गर्न खनियाखर्कमा जुनार सुपरजोनसँग समन्वय गरेर जुनारका कक्ष राखेर प्रदर्शनी तथा महोत्सव गरिने र साइकलयात्री फर्कँदा सिन्धुलीको जुनार कोशेलीका रुपमा लैजानेसमेत उनले बताए । समृद्ध सिन्धुली अभियानले विगत दुई वर्षदेखि सिन्धुलीगढीको प्रचार–प्रसार गर्ने हेतुले साइकलयात्रा, सिन्धुलीगढीमा कला शिविरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Loading...