देउसी खेल्न बोलाएर किशोरीलाई बलात्कार गर्ने नेकपाका अर्का केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, १३ कार्तिक । देशभर बलात्कारका घटना बढिरहेको र यस्ता काण्डले ठूला ठूला नेताहरु ढल्न थालेका बेला सत्तारुढ दलका अर्का नेता पनि पक्राउ परेका छन् । तिहारमा देउसी खेल्न बोलाएर एक किशोरीलाई बलात्कार गरेपछि नेकपाका अर्का एक युवा नेता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी नेता इन्द्रहाङ राई छन् । राईलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरिएको जनाएको छ । काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर ती किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। राईबाट बलात्कृत भएकी ती पीडित किशोरी प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । साथै प्रहरीले पनि उनलाई सोही उजुरीका आधारमा राई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले किशोरीमाथि बलात्कार भएको भनिएको घटनास्थल नियन्त्रणमा लिएर छानविन गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले किशोरीको स्वास्थ्य जाँच पनि भइरहेको जनाएका छन।

यसैबीच अनेरास्ववियु नेता आरसी लामिछानेले पक्राउ परेका राईलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्न प्रहरीसँग माग गरेका छन् । उनले राईलाई संगठनले समेत निश्कासन गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

Loading...