भ्रमण वर्ष सघाउन मोटरसाइकल यात्रा

गलकोट, १० कात्तिक । नेपालीले आफ्नो गाउँ–ठाउँ चिन्दैन बरु अन्य देशको भ्रमण गर्न रुचाउँछन् भन्ने गुनासोको बीच बागलुङमा आफ्नै स्थानलाई महत्व दिनका लागि यसपटक प्रयास भएको छ ।

आफ्नो गाउँ सबैलाई चिनाउने गरी बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धनका निमित्त शनिबार बागलुङस्थित कालिका मन्दिरदेखि गाजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको छ । गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष सन् २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङ बजारदेखि पर्यटकीयस्थल गाँजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको हो । बागलुङ जिल्लामा आउने पर्यटकलाई बागलुङ जिल्लाका प्रसिद्ध पर्यटकीयस्थलसँग जोड्ने अभियानअन्तर्गत पहिलो चरणमा गाँजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको हो ।

जिल्ला पर्यटन विकास समिति बागलुङ, घुमन्ते दि अमेजिन ट्राभल्सको आयोजनामा गरिएको एकदिने मोटरसाइकल यात्रामा एक सय जना मोटरसाइकल यात्रीको सहभागिता रहेको घुमन्ते समूहका सदस्य तथा मोटरसाइकल यात्राका संयोजक खिमबहादुर क्षेत्रीले जानकारी दिए ।

सरकारले निकालेको १०० पर्यटकीय गन्तव्यको सूचीमा रहेको कालिका मन्दिर र गाँजाको दहलाई जोड्नका लागि मोटरसाइकल यात्राले सहयोग पुग्ने जिल्ला प्रयर्टन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “गण्डकी प्रदेश सरकारको आन्तरिक तथा नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग हुनेछ”, खड्काले भने, “गाँजाको दहको ऐतिहासिक महत्वको मोटरसाइकल यात्राले बाहिर ल्याउनेछ ।” कालिका मन्दिर आउने पर्यटकको केही भाग गाँजादह पु¥याउने लक्ष्य रहेको खड्काको भनाइ छ ।

मोटरसाइकल यात्रीलाई कालिका मन्दिरदेखि बागलुङ बजार, सिगानको बेँसी, बलामकोट, बौडेचौर र चापाखर्क हुँदै गाँजाको पु¥याइएको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । गाँजाको दह तथा चापाखर्कबाट धवलागिरि हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमालजस्ता एक दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिनेछ । गाँजाको दह प्राकृतिक तथा धार्मिकरूपमा समेत निकै महत्वका रूपमा मानिन्छ । जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा अवस्थित गाँजाको संरक्षणका लागि विभिन्न प्रयाससमेत थालिएको छ ।

सामुद्रिक सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गाँजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहासिकको सङ्गमस्थलको रूपमा विकास गर्न सकिने जिल्लाको महत्वपूर्ण स्थानका रूपमा लिँदै आइन्छ ।

Loading...