विमानस्थलमा राखियो १३ प्रहरीसहितको कडा सुरक्षा व्यवस्था

खोटाङ, ९ कातिक । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएको छ । गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी रहने गरी सुरक्षाको व्यवस्था मिलाइएको हो ।

खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा पर्ने सो विमानस्थलमा तत्कालका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी खटाइएको छ । विसं २०७५ माघमा धावनमार्गको कालोपत्रे सम्पन्न गरेर सञ्चालनमा ल्याइएको विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएपछि स्थानीयवासी हर्षित भएका छन् । अठार वर्षसम्म कच्ची अवस्थामै सञ्चालन हुँदै आएको विमानस्थल कालोपत्रे गरेर पुनः सञ्चालनमा ल्याइए पनि सुरक्षाको अभावमा नियमित उडान भर्न असहज भएपछि स्थायी सुरक्षाको व्यवस्था गरिएको सांसद विशाल भट्टराईले बताए ।

“थामखर्क विमानस्थलमा उडान हुने भएपछि करीब एक घण्टा तल रहेको इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट पैदल हिँडाएर प्रहरी निकाल्नुप¥थ्यो”, उनले भने, “ढिलै भए पनि थामखर्कमा स्थायी सुरक्षागार्डको व्यवस्थाले विमानस्थल र आसपासका क्षेत्रको सुरक्षामा सहजता भएको छ ।” विसं २०५६ बाट उडान शुरु गरिएको सो विमानस्थल कालोपत्रे भएर नियमित भएपछि दक्षिणी क्षेत्रका स्थानीयवासी तथा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणले समेत सेवा पाएका छन् ।

अहिलेसम्म हवाई सेवाबाहेक अन्य यातायात सञ्चालनमा नरहेको त्यस क्षेत्रमा थामखर्क विमानस्थलको धावनमार्ग कालोपत्र गरेसँगै नियमित हवाई सेवा शुरु भएपछि राजधानी काठमाडौँलगायत तराईका जिल्ला आवतजावतमा सहज भएको छ । तीन वटा विमानस्थल रहेको जिल्लामा थामखर्कसँगै मनमायाँ राई खानीडाँडा विमानस्थलमा समेत स्थायी सुरक्षाको व्यवस्था गर्न पहल भइरहेको सांसद भट्टराईले बताए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक रहेको उक्त विमानस्थलमा जिल्ला प्रहरी कार्यालयबाट अस्थायीरुपमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा यसअघि नै स्थायी सुरक्षाको व्यवस्था गरिएको थियो । जिल्लाका तीनवटै विमानस्थल कालोपत्रे गरिए पनि पहिरोका कारण खानीडाँडा विमानस्थल भने अवरुद्ध छ ।

Loading...