स्थानीय प्रशासनसँगको सहकार्यमा गाँजाखेती नष्ट

काठमाडौँ, ६ कात्तिक । स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार २०० भन्दा बढी प्रहरी परिचालन गरेर गाँजाखेती फाँडी जलाएर नष्ट गरिएको हो । गाउँमा पुग्दा पुरुषहरु कोही पनि नभेटिएको जानकारी दिँदै उनले सो क्षेत्रमा व्यावसायिक रुपमा गाँजाखेती गरेको पाइएको बताए ।

महिलाले भने बाँदेलले मकै खाने गरेकाले विकल्पको रुपमा गाँजाखेती गरेको प्रतिक्रिया दिएका बताइएको छ । कानूनले गाँजाखेतीलाई अवैध मानेको छ । मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ । हरेक वर्ष गाँजाखेती फँडानी गर्ने गरिएको भए पनि खेती लगाउने क्रम भने रोकिएको छैन । उनीहरुलाई विकल्प दिनुपर्ने आवज वर्षेनी उठ्दै आएको पनि छ ।

Loading...