अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दशैलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए ।

‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।

‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’

‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले बताए । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार थोरै समयका लागि मात्र घाम देखिने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको उनले बताए । ‘अरब सागरबाट नेपाल बहने पश्चिमी जलवाष्पयुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने छैन,’ उनले भने ।

आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ मापन गरिएको थियो । विराटनगको न्यूनतम १८ डिग्री मापन गरिएको थियो । वीरेन्द्रनगर, सिमरा, दाङ, धनकुटा र पोखरामा पनि न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ ।

आइतबारको न्यूनतम

जुम्ला: ०.७ डिग्री सेल्सियस सबैभन्दा कम
विराटनगर:  १८ डिग्री सेल्सियस सबैभन्दा बढी
काठमाडौं:  १४ डिग्री सेल्सियस

आइतबार बिहानैदेखि मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार मुलुकको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली हुनेछ ।

मध्य र पूर्वी पहाडका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । मंगलबार पनि मुलुकको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...