प्रहरीबाट फरार भनिएका नेकपा सांसद पार्वत गुरुङ आफै पुगे अदालत

काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको थियो ।

आफ्नो नाउमा पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि गरेको थाहा पाएपछि सांसद गुरुङ केही दिन पर्खेर आज आफै अदालत पुगेका हुन् । उनले यो विल्कुलै राजनीतिक मुद्दा भएको दावी गर्दै आएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो । गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए । 

प्रहरीले पक्राउ नगरी आफै अदालतमा उपस्थित भए पनि उनलाई अब प्रहरीले अदालतबाटै यो मुद्दाको किनारा नलाग्दासम्म हिरासतमा राख्न सक्ने बताइएको छ । सांसद गुरुङ अदालतमा पुगेका कारण अब उनको त्यहाँ बयान हुने बताइएको छ । उक्त बयान भएपछि प्रहरीले सबै अनुसन्धान सकेर अदालतमा पेश गर्ने र त्यहाँ उनीमाथि थुनछेक बहस हुनेछ । अदालतले समेत दोषी ठहर गरेममा उनको यात्रा जेलको हुनेछ । तर, अदालतले धरौटी वा साधारण तारेखमा छाड्न पनि सक्छ । अदालतबाट सफाई नपाएमा उनको सांसद पद पनि धरापमा पर्नेछ । सांसद गुरुङ मंसिर ०७४ भएको संघ र प्रदेशको चुनावमा संघीय सभामा सबैभन्दा बढी मतको अन्तरमा दोलखाबाट जित हासिल गरेर चर्चामा आएका थिए ।

सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ । सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो ।

त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । 

Loading...