टेलिकमले ल्यायो अझै सस्तो अटम अफर

काठमाडौँ, ३० असोज । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ ।

डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको रु एक हजार २०० को प्याकलाई रु एक हजार, रु तीन हजार ४०० को प्याकलाई रु तीन हजार, रु ६ हजार ४०० को प्याकलाई रु पाँच हजार, रु पाँच सय र रु १२ हजार ३०० को प्याकलाई अब रु १० हजार ५०० मात्र पर्ने भएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ १४१५ ३ मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिन्छ ।

Loading...