राष्ट्रिय सङ्गीतकर्मी सङ्घमा कार्की

पोखरा, १ कात्तिक । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन् । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घको ४८ जिल्ला र विदेशमा पाँच सङ्घ स्थापना गरिएको जानकारी दिए । सङ्गीत विकास बोर्ड गठन गरिनुपर्ने र सबै क्षेत्रका कलाकारले योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने भन्दै उनले कलाकारलाई कसैका गहनाका रुपमा नभई राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्ने उल्लेख गरे ।

सङ्घका पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारलाई प्रयोग मात्रै गर्ने नभई उनीहरुको भविष्य सुनिश्चितता गर्नुपर्ने धारणा राखे । कार्यक्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमलगायतले सङ्घले सबैलाई समेटेर लैजानुपर्ने बताए ।

Loading...